• १३ वैशाख २०८१, बिहिबार

पाँच जना लेखनदास पक्राउ

blog

नगेन्द्रकुमार कर्ण

महोत्तरी, माघ १६ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्रहरीले पाँच जना लेखनदासलाई पक्राउ गरेको छ । सेवाग्राहीहरूको काम आफै गरिदिने र बढी रकम माग गर्नेगरेका कारणले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा. २ बस्ने उदयशंकर यादव, जलेश्वर न.पा. २ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर न.पा. ८ बस्ने विशम्भरप्रसाद साह रहेको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले सेवाग्राहीको काम कार्यालयमा आफै पुगेर गरिदिने, सेवाग्राहीसँग बढी रकम लिने लगायतका गुनासो आएपछि निगरानी राखेर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

सेवाग्राहीको बढी भिडभाड हुने प्रशासन कार्यालय, मालपोत तथा भूमिसुधार कार्यालय, अदालत लगायतका कार्यालयमा लेखनदासहरू अदालतबाट प्रमाणपत्र पाएर कामकाज गरे पनि उनीहरू अतिरिक्त रकमको लोभमा नियमविपरितका कामहरू गराउँदा गुनासोहरू बढेको देखिएको छ ।  

सेवादाता र सेवाग्राहीबीच पुलको काम गरिदिने लेखनदासको काम भए पनि तोकिएभन्दा बढी रकम लिएर बिचौलियाको काम गरिदिने गरेको कारणले पटक पटक सेवादाता कार्यालयले बिचौलिया निषेधित क्षेत्र भनेर कार्यालयमा निषेधित गर्दैआएको छ । 

सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने क्रममा लेखनदास जिम्मेवार निकायले तोकिदिएको शुल्कभन्दा बढी रकम लिने गरेकाले सेवाग्राहीहरू उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिनुभयो । 

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीका सचिव अर्पणकुमार कर्णले सेवा प्रदायक र सेवाग्राहीबीच पुलको काम गर्ने लेखनदासलाई के कति कारणले पक्राउ गरिएको हो, बुझन् नसकेको जानकारी दिनुभयो ।