• १२ साउन २०८१, शनिबार

रेडियोको प्रभावकारितालाई अझै फैलाउनुपर्छ : मुख्यमन्त्री अधिकारी

blog

रमेश पौडेल

पोखरा, माघ १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सूचना र सञ्चारमा विश्वासिलो माध्यम रेडियो एफएम रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोराव) गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा प्रदेश भेलाको पोखरामा आज उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो । 

उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा एफएम रेडियोको भूमिकालाई बिर्सन नहुने बताउँदै रेडियो सञ्चालकहरु र रेडियोकर्मीहरुले रेडियोलाई समयसापेक्ष अगाडि बढाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री अधिकारीले प्रदेशको विकासका लागि प्रदेश सरकारको बजेट निकै कम भएको बताउनुहुँदै सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदानलाई परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो । 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका अधिकारीले स्वास्थ्य क्षेत्रमा विमादेखि लिएर दीर्घरोग क्यान्सर, मिर्गौलाका बिरामीहरु, सुत्केरी महिलाको बारेमा गरिएका नीतिगत निर्णयहरु प्रभावकारी भएको बताउनुभयो । उहाँले क्यान्सर रोगको बारेमा चेतना दिन प्रसारण मिडियामा धूमपान र मद्यपानका विज्ञापनमा रोक लगाएको बताउनुभयो । 

समाजका अन्धविश्वास हटाउन पनि रेडियोको भूमिका प्रभावकारी रहेको र गण्डकी प्रदेशले ल्याउने मिडिया विधेयक मिडियामैत्री तवरबाट ल्याइने आश्वासन दिनुभयो । 

एकोरावका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो जनताबाट मुठी दान सङ्कलन गरी स्थापना र सञ्चालन भएकाले राज्यले पनि सोहीअनुरुप बुझिदिन आग्रह गर्नुभयो । कार्यक्रममा एकोराव लेखा समिति संयोजक डा. भूमिराज चापागाईंलाई सम्मान गरिएको थियो । 

अनुसन्धानकर्ता चापागाईंले नेपाली संस्कृतिको प्रवर्धनमा एफएम रेडियोको भूमिका विषयमा विद्यावारिधि गर्नुभएको थियो । सो अवसरमा डा. चापागाईले नेपालमा अझै पनि ४५ प्रतिशत नागरिकले रेडियोको समाचार सुन्ने र ३० प्रतिशत विश्वासयोग्य भएको बताउनुभयो । उहाँले अनलाइन ८ प्रतिशत भए पनि सामाजिक सञ्जाल ३ प्रतिशतभन्दा बढी विश्वास गर्न नसकिने उल्लेख छ । टेलिभिजन दर्शकले ३० प्रतिशत र छापा मिडियाले १५ प्रतिशत पाठक रहे पनि ३० प्रतिशतभन्दा माथि विश्वास गर्ने तथ्याङ्क रहेको जानकारी दिनुभयो । 

अकोराव गण्डकी अध्यक्ष गणेश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारी, रमेश पौडेल लगायतले बोल्नुभएको थियो ।