• ८ वैशाख २०८१, शनिबार

भलिबलमा नयाँ प्रतिभा खोजीका लागि २० लाख सहयोग

blog

म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँ र गौमती खत्री विकास अक्षयकोषका संस्थापक अध्यक्ष लालबहादुर केसीबीच समझदारी पत्र आदानप्रदान गर्नुहुँदै । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, माघ १६ गते । विद्यालय स्तरमा नयाँ प्रतिभाको खोजी र पहिचान गर्न यहाँको एक संस्थाले जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ ।  गौमती खत्री विकास अक्षय कोषले भलिबल सङ्घलाई वार्षिक रूपमा दुई लाखका दरले दश वर्षसम्म सहयोग गर्ने भएको हो । उक्त सहयोगले विद्यालय स्तरमा भलिबल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने आशा गरिएको छ । 

भलिबल सङ्घको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता÷ पत्रमा हस्ताक्षर गर्नुभएको छ । हाल न्युजिल्याण्डमा बसोबास गर्नुहुने केसी बेनी नगरपालिका ४ बास्कुना निवासी हुनुहुन्छ । 

कोषको सहयोगले वार्षिक रूपमा विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता आयोजना गरिने भलिबल सङ्घका अध्यक्ष बानियाँले बताउनुभयो । म्याग्दी कप नामकरण गरिएको उक्त प्रतियोगिता सञ्चालनका लागि कोषले अग्रिम रूपमा वार्षिक दुई लाख रुपियाँ उपलब्ध गराउने कोषका संस्थापक अध्यक्ष केसीले बताउनुभयो । म्याग्दी भलिबलको उर्वर भूमि भएकाले भलिबल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि आफूले सहयोग गरेको उहाँको भनाइ थियो । प्रत्येक वर्षको पुस ५ गते भलिबल प्रतियोगिता आयोजना हुनेछ । 

प्रतियोगितामा सहभागी हुने विद्यालयको छनाेटसहित प्रतियोगितामा सहभागी हुनेलाई नियमित प्रशिक्षणसहितको योजना रहेको बानियाँले बताउनुभयो । हरेक विद्यालयबाट खेलाडीको छनौट गरी प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

आर्थिक सहयोगदाता कोषका संस्थापक अध्यक्ष एवम् पूर्व भलिबल खेलाडी केसीले विद्यार्थीलाई हौसला र उत्प्रेरणा दिन सहयोग गरेको बताउनुभयो । ‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहन्छौ,‘आवश्यकता अनुसार थप सहयोग गर्नेछौ’ उहाँले भन्नुभयो । खेल क्षेत्रमा गरिएको सहयोगले म्याग्दीको भलिबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।