• १२ मंसिर २०८१, बुधबार

यातायात कार्यालय बिचौलियामुक्त

blog

नवलपरासी समाचारदाता

कावासोती, माघ १६ गते । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपरासी बर्दघाट सुस्तामा चार वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालयले ६० करोड रुपियाँ राजस्व उठाएको छ। यस कार्यालयले दिने सेवाको नकारात्मक टीकाटिप्पणी हुने गथ्र्याे तर अहिले भने सेवासुविधाप्रति सर्वसाधारण सेवाग्राही खुसी देखिएका छन्। 

नवलपरासीपूर्वको कावासोतीमा चार वर्षअघि स्थापना भएको यातायात सेवा कार्यालय अहिले यातायात व्यवस्था कार्यालयमा परिणत भएको छ। यातायात तथा सवारीसम्बन्धी हुने सम्पूर्ण कामका लागि यस कार्यालयलाई घुसखोरी र बिचौलियामुक्त बनाइएको दाबी गरिएको छ।  सुरुमा स्थापना हुँदा जति विवाद र विरोध हुने गथ्र्यो, अहिले यातायात कार्यालय सबैको सहज पहुँच पुग्ने कार्यालयका रूपमा स्थापित हुन सफल भएको कावासोतीका अमर विश्वकर्माले बताउनुभयो। याँ सेवाग्राहीको कुनै पनि काम सजिलै बन्ने गरेको छ। 

जनताका काममा तनाव दिने, ढिलासुस्ती गर्ने कर्मचारीदेखि बिचौलियासमेतलाई कारबाही गर्ने परिपाटीले हरेक काम सहजै पाउन सकेको कावासोतीका गोपाल बस्ताकोटीले बताउनुभयो। 

यातायात व्यवस्था कार्यालय कावासोतीमा १८ जनाको दरबन्दी हुनुपर्ने भए पनि हाल १३ जना कर्मचारी कार्यरत छन्। तिनमा तीन जना कार्यालय सहयोगी छन्। १० जनाले मात्र सवारीसाधनको अनुमतिपत्रका साथै अन्य सबै काम, जाँचपासदेखि नवीकरणको कामसमेत गर्नुपर्ने बाध्यता रहेको कार्यालयका प्रमुख टेकबहादुर घर्तीले बताउनुभयो। 

अनैतिक गतिविधि पूरै निरुत्साहित गरी यातायात व्यवस्था कार्यालयप्रति जनतामा हुने नकारात्मक भ्रम चिर्न सफल भएको प्रमुख घर्तीको दाबी छ।  कार्यालय स्थापना भएको तीन आर्थिक वर्षमा झन्डै ६० करोड रुपियाँ राजस्व हासिल भइसकेको छ। यस आर्थिक वर्षको पुस मसान्तसम्मको छ महिनामा १५ करोड रुपियाँभन्दा बढी राजस्व हासिल गरेको प्रमुख घर्तीले बताउनुभयो। यो आर्थिक वर्षमा ३० करोड राजस्व उठाउने लक्ष्य समयमै पूरा हुने उहाँको भनाइ छ। स्थापनादेखि हालसम्म यस कार्यालयले झन्डै आठ हजार लाइसेन्स वितरण गरेको। यस्तै छ हजार स्मार्ट लाइसेन्स वितरण गरेको छ।