• १२ मंसिर २०८१, बुधबार

पुस्तौँको प्रतीक्षापछि खानेपानी

blog

गणेश पौडेल 

पर्वत, माघ १६ गते ।  पुस्तौँदेखि खानेपानीका लागि कष्ट भोग्दै आएका पर्वतको फलेवास नगरपालिका–३, शङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या समाधान हुने भएको छ। गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या टर्ने भएको हो। 

लमाय खोलाबाट करिब १७ सय मिटर उचाइमा लिफ्ट गरी मैदानस्थित लिमिकोटमा पानी पु-याइएको आयोजनाका सचिव कमल भुसालले जानकारी दिनुभयो। यसरी ल्याइएको पानी फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा वितरण गरिने जानकारी उहाँले दिनुभयो। 

गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको सहयोगमा उक्त आयोजना सञ्चालन भएको हो। आयोजनाको ट्याङ्की निर्माण, विद्युतीकरण, मुख्य पाइपलाइन विस्तारलगायतका काम पूरा भइसकेको र वितरण पाइप जडानपछि घरघरमा खानेपानी वितरण गरिने सचिव भुसालले जानकारी दिनुभयो। 

उपभोक्ता समितिका अनुसार आयोजनाको परीक्षण सफल भइसकेकाले पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत वितरण गरिनेछ। आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन विस्तार गरी उपभोक्तामा मिटरसहितको धारा जडान गर्न अझै केही समय लाग्ने भुसालले बताउनुभयो।

आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपियाँ लागत आकलन गरिएको छ। आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गतको एकाइ कार्यालय कुस्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो। 

उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपियाँ मात्र खर्च भएको छ। आयोजनाको भौतिक प्रगति धेरै भए पनि मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वित्तीय प्रगति २१.३४ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ। बाँकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो। 

उहाँका अनुसार धेरै जनसङ्ख्या लाभान्वित हुने आयोजना भएकाले प्रदेश सरकारले समेत विशेष महत्त्वका साथ हेरेको र आवश्यक बजेट समयमै विनियोजन गर्ने प्रतिबद्धता आएकाले छिटो काम सम्पन्न गर्ने गरी बजेट विनियोजन हुने गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले बताउनुभयो। 

उहाँले संवैधानिक अधिकारभित्रै पर्ने स्वच्छ खानेपानीको पहुँच सर्वसाधारणसम्म पु-याउन मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो। मन्त्रालयले २०७५ फागुनमा लमाय खोला लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो। बजेट अभावका कारण उक्त आयोजनाको पानी बस्तीसम्म ल्याउन समस्या परेको थियो। 

आयोजनामा आवश्यक पर्ने विद्युत् ल्याउन विद्युत् प्राधिकरणलगायतका विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम अघि बढाउनुपर्ने भएकाले आयोजनाको काम केही ढिलाइ भएको उपभोक्ता समितिले जनाएको छ। लमाय खोलाको पानी मैदानमा ल्याएर घरघरै वितरण हुने भएपछि पुस्तौँदेखिको समस्या सहज हुने भन्दै उपभोक्ता खुसी भएका छन्। 

शङ्करपोखरीको डाँडामा पानीको समस्याका कारण यहाँका बासिन्दा एक घण्टा लगाएर एक गाग्री पानी बोक्न बाध्य थिए। खानेपानी समस्या समाधानका लागि डहरे लेकबाट पानी ल्याइए पनि दिगो रूपमा सञ्चालन हुन नसक्दा आकासे पानीको भरमा बस्नु परेको स्थानीय चित्राकुमारी क्षेत्रीले बताउनुभयो।