• १२ साउन २०८१, शनिबार

कलाकार शरद रञ्जित सम्मानित

blog

अग्रज कलाकार शरद रञ्जितलाई सम्मानित गरिँदै । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौं, माघ १४ गते । ‘बराथा स्मृति सम्मान २०७९’ बाट नेपाली व्यंग्यचित्रका क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज कलाकार शरद रञ्जित सम्मानित हुनु भएको छ । 

कार्टुनिस्ट क्लब अफ नेपालले शनिबार राजधानीमा उहाँलाई सम्मान गरेको हो । क्लबका संस्थापक अध्यक्ष अग्रज कलाकार अशोकमान सिंहले एक समारोहका बीच रञ्जितलाई उक्त सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा सिंहले नेपाली व्यंग्यचित्रका क्षेत्रमा रञ्जितले अतुलनीय योगदान दिएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली कार्टुन क्षेत्रका सुरुवाती दिनको चर्चा गर्दै अग्रजहरूको योगदानका कारण कार्टुनकलाको विकास भएको अनुभव सुनाउनु भयो । 

उहाँले क्लबको स्थापनाको उद्देश्य र अवस्था बताउँदै पुराना र अनुभवीको सम्मानले नयाँ पुस्तालाई उत्प्रेरणा मिल्ने धारणा राख्नुभयो । 

सम्मानित व्यक्तित्व शरद रञ्जितले पहिला नयाँ गोरेटो नामको प्रौढ शिक्षाको पुस्तिका र भाँडभैलोलगायत व्यङ्ग्य पत्रिकाको प्रकाशन गर्दाको अनुभव सुनाउनु भयो । रञ्जितले क्लबलाई धन्यवाद दिँदै विगतलाई सम्झिएर अझै व्यंग्यचित्रमा काम गर्न हौसला पाएको बताउनुभयो ।

उहाँले नेपाली व्यंग्यचित्रकारका इतिहाससम्बन्धी कार्यपत्रसहित पुस्तक प्रकाशन गर्नुपर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्टुनिस्टसहितको सेमिनार, कार्यशाला, नियमित कार्टुनसम्बन्धी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

क्लबका निवर्तमान अध्यक्ष कार्टुनिस्ट अविन श्रेष्ठले अग्रजले बनाएको व्यंग्यचित्रको गोरेटोमा अहिलेका कार्टुनिस्टलाई काम गर्न सजिलो भएको अनुभव सुनाउनु भयो । उहाँले अग्रजको योगदानले नै कार्टुन विधाले फड्को मार्न सकेको विचार व्यक्त गर्नुभयो । दिवङ्गत वरिष्ठ कार्टुनिष्ट बलराम थापाको नाममा सम्मान राखेर क्लबले यसको सुरुवात गरेको जानकारी दिनुभयो । स्मरणीय छ, बलराम थापा गोरखापत्रमा आबद्ध हुनुहुन्थ्यो । गोरखापत्रलगायत विभिन्न पत्र पत्रिकामा उहाँका कार्टुनहरू प्रकाशित छन् । 

२०७६ सालको बराथा स्मृति सम्मानबाट प्रा.रामकुमार पाँडेलाई सम्मानित गरिँदै । 

क्लबका अध्यक्ष वासु क्षितिजले विगत आठ वर्षदेखि संस्थाले निरन्तर रूपमा सम्मान प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले नेपाली व्यंग्यचित्रका क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई क्लबले हरेक वर्ष सम्मान गर्दै आएको बताउनुभयो । 

अग्रजको सम्मानले नयाँ पुस्तालाई हौसला मिल्ने विचार व्यक्त थप्नुभयो । कार्यक्रममा २०७६ सालको बराथा स्मृति सम्मानबाट प्रा.रामकुमार पाँडेलाई सम्मान गरिएको थियो । प्रा.पाँडेले सो अवसरमा नेपाली कार्टुनको इतिहास र उतारचढावका बारेमा चर्चा गर्नुभयो । 

यस्तै, संस्थाका उपाध्यक्ष देवेन्द्र थुम्केलीले नेपालमा कार्टुनको संस्थागत विकास र यसका आयामका बारेमा चर्चा गर्नुभयो । क्लबका महासचिव रवि मिश्रले नेपाली कार्टुनमा पुराना र नयाँ पुस्ताका कार्टुनिष्टलाई संस्थाले एक ठाउँमा जोडेको बताउँदै बराथा स्मृति सम्मानका बारेमा जानकारी दिनुभएको थियो ।