• ६ कात्तिक २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

कमल शर्मा

दैलेख, माघ १५ गते । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद साहले छामघाट खोलाबाट ढुङ्गा बोकेर किम गाउँतर्फ जाँदैगरेको भे २ त १४७८ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल पुग्दा उहाँको मृत्यु भएको बताउनुभयो ।

उहाँले ट्याक्टर चालक भगवतीमाई गाउँपालिका –७ बडाभैरबका कृष्णबहादुर बिक फरार भएकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतक रमेश बिक पनि ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।