नेत्र शाही
जुम्ला, माघ १२ गते । जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवार देखी आएको लगातारको हिमपातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानैदेखि हिउँ रोकिएको छ ।
नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मङ्गलवार र बुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उहाँका अनुसार आज भने मौसम राम्रो भए पनि धावनमार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन ।
आज मौसम राम्रो भएकाले नेपालगन्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धावनमार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्द बक्स गणका गणपति रबिन थापाले जानकारी दिनुभयो ।
धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ ।
तीन दिनदेखि हिउँ परेर नेपालगन्जमा जुम्ला आउने यात्रुहरू अलपत्र अवस्थामा छन् ।