ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), माघ ११ गते । बेनीबजार गणेशटोलका सुकलाल किसानको तीन पुस्ताले जुत्ता सिलाएर जीवन निर्वाह गर्दैआएको छ । त्यही पुर्ख्यौली सीपको बिँडो अहिले सुकलालले धान्दै आउनुभएको छ ।
सानो छँदा बुवाले सिकाएको त्यही सीपले यतिबेला सुकलालको जीवनमा ठूलै परिवर्तन ल्याइदिएको छ । सामान्य लेखपढ गर्न मात्र जान्ने सुकलालले जुत्ता सिलाउने र पालिस लगाउने पेसाले छोराछोरीलाई उच्च शिक्षादीक्षा दिनुका साथै बजारमा घरघडेरी जोड्नुभयो ।
विगत १५ वर्षदेखि जुत्ता सिलाउने सीप तथा पेसा अपनाउँदै आउनुभएका सुकलाल १२ वर्ष जति विदेश बसे पनि पुनः फर्किएर जुत्ता सिलाउने व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ । “जुत्ता सिलाउने मान्छे भनेपछि सुरुसुरुमा गाउँसमाजले राम्रो नजरले हेर्दैन थियो,” उहाँले भन्नुभयो, “अहिले समाज परिवर्तन भयो, शिक्षित युवा बढ्दै गए सबैले सम्मान गर्दछन् ।”
“बाउबाजेले जुत्ता सिलाएर नै हामीलाई हुर्काउनु बढाउनुभयो, त्यो बेला एकछाक खान पनि धौधौ थियो,” सुकलालले स्मरण गर्नुभयो, “पढ्नुपर्छ भन्ने कुराको ज्ञान नै थिएन । स्कुल थिएनन् । बाबुको छेउमा बसेर जुत्ता सिलाएको हेर्थें । त्यहीँबाट मैले पनि सीप सिके । जुन सीप मेरो जीवन बदल्ने आधार बन्यो ।” जुत्ता सिलाएको आम्दानीले सुकलालले दुई छोरा र एक छोरीलाई उच्चतहको शिक्षा अध्ययन गराउनुभएको छ । उहाँ जेठो छोरा १२ पास गरेर अमेरिका पुग्नुभएको छ । कान्छो छोरा बेनीमै कक्षा ११ मा र छोरी काठमाडौँमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।
“मेरो अन्य कुनै आम्दानी थिएन छोराछोरीलाई यही पेसाबाट कमाएको पैसाले पढाउनेदेखि अमेरिका पठाउन खर्च गरेको छु,” उहाँले भन्नुभयो, “पुर्खाले गरेको पेसा छाड्न सकिएन । हातखुट्टा चल्ने बेलासम्म यही पेसामै रमाउने हो ।” उ बेला छिमेकमा जुत्ता सिलाउने सानो जाति भनेर होच्याउने गर्दथे । छरछिमेकमा हुने विवाह, व्रतबन्ध तथा भोजभतेरलगायतका कार्यमा निम्ता गर्दैनथे जुत्ता सिलाएर नै बेनीमा तीन तल्ला घर बनाए, छोराछोरीलाई राम्रोसँग पढाएँ त्यसैले आजकल सबैले बोलाउँछन्, सम्मान गर्दछन् उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
२०५७ सालमा बुवाको निधनपछि आफ्ना भाइहरूलाई हेरविचार गर्ने जिम्मेवारी सुकलालको काँधमा थपियो । “जुत्ता सिलाउन छाडेर वैदेशिक रोजगारीको सिलसिलामा १२ वर्ष बहराइन बस्नुुभयो । बहराइनबाट घर फर्र्किपछि फेरि विदेश जाने मन पलाएन, बाउबाजेले अङ्गालेको पेसा र सानो हुँदा बुवाले सकाएको सीपलाई नै मैले जीवन धान्ने आधार सम्झेर यतै बसेँ,” उहाँले थप्नुभयो ।
सुकलालका बुवाले जुत्ता सिलाएर कमाएको पैसाले बेनीमा घडेरी जोड्दिनुभएको थियो । त्यही घडेरीमा सुकलालले अहिले तीन तल्ला पक्की घर बनाउनुभएको छ । पहिलापहिला खासै आम्दानी नहुने अलिअलि कमाएको पैसाले परिवार धान्नै कठिन हुने गरेको उहाँले बताउनुभयो । २०५० सालदेखि राम्रो आम्दानी हुने गरेको हो । २०६२ सालबाट सुकलालले बेनी सु–सेन्टर उद्योग दर्ता गरेर जुत्ता बनाउने काम पनि गर्दै आउनुभएको छ । अहिले सुकलालको मासिक पाँचदेखि छ लाख रुपियाँसम्म कारोबार हुने गरेको छ ।
उहाँको श्रीमतीले सघाउँदै आउनुभएको छ । जुत्ता उद्योगमा अन्य तीन जनालाई रोजगारीसमेत दिनुभएको छ । सबै खर्च कटाएर मासिक एकदेखि दुई लाखसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।
जुत्ता पालिस गरेको ५० रुपियाँ, सिलाएको ज्याला भने जुत्ता चप्पल फाटेको आधारमा ५० रुपियाँदेखि दुई सयसम्म लिने गरेको उहाँले सुनाउनुभयो । उहाँ स्थानीय ग्राहकहरूबीच निकै लोकप्रिय पनि हुुनुहुन्छ । पसलमा बिहानदेखि साँझसम्मै ग्राहकको भीड लाग्ने गर्दछ । जीवन धान्न पुर्खाले सुरु गरेको यो पेसा, अबको पुस्ताले अपनाउने कुरामा उहाँ चिन्तित हुनुहुुन्छ । उहाँको बुझाइमा कुनै पनि सीप सानो–ठूलो हुँदैन । सीपले संसारभर चिनाउँछ, छाक टार्न समस्या हुँदैन ।