रजनी योगी
सुर्खेत, माघ १० गते । शिक्षक सेवा आयोगले केही दिन पहिले प्राथमिक तह तृतीय श्रेणी शिक्षकको नतिजा प्रकाशन ग-यो। सार्वजनिक नतिजाअनुसार खुला प्रतियोगितात्मक लिखित परीक्षामा धेरै जिल्लामा माग सङ्ख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भए। केही जिल्लामा माग सङ्ख्याभन्दा आवेदन नै थोरै परे। आयोगले प्रकाशित गरेको हुम्ला, मुगु, डोल्पा, रुकुम–पश्चिम, जुम्ला, कालीकोट, सल्यान, जाजरकोट र दैलेखको नतिजाले शिक्षक पेसाप्रति अरुचि बढ्दै गएको देखाएको छ। हुम्लामा ३५ जना प्राथमिक तहको शिक्षकको माग भए पनि २७ जनाले मात्र परीक्षा दिएका थिए। तीमध्ये सात जना मात्रै उत्तीर्ण भए। प्रतियोगितात्मक लिखित परीक्षा दिएका २७ मध्ये २० जनाले न्यूनतम अङ्कसमेत ल्याउन सकेनन्।
रुकुम–पश्चिममा १५ जना शिक्षकको माग भए पनि छ जना प्रतिस्पर्धामा सहभागी भएका थिए। त्यसमध्ये एक जना मात्र उत्तीर्ण भए। आयोगले यही माघ ५ गते प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। जसअनुसार कर्णालीका अधिकांश जिल्लामा माग सङ्ख्याभन्दा कम परीक्षार्थीले मात्र न्यूनतम अङ्क ल्याएका छन्। प्राथमिक तह तृतीय श्रेणीका लागि जुम्लामा १७ जना शिक्षकको माग गरिएको थियो। जसमा २६ जनाले आवेदन दिएका र तीमध्ये तीन जनाले मात्रै न्यूनतम अङ्क ल्याएका छन्।
मुुगुुमा ३६ जना शिक्षकको माग थियो। ६४ जनाले आवेदन दिएता पनि १३ जना मात्रै उत्तीर्ण भए। शिक्षा विकास निर्देशनालयका निमित्त प्रमुख दीपा हमालले शिक्षा प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा शिक्षण पेसामा आकर्षण घट्दै गएको बताउनुभयो। सेवासुविधा र भौगोलिक विकटताका कारणले गर्दा पनि यो पेसामा आकर्षण कमी भएको उहाँको भनाइ छ।
डोल्पामा प्राथमिक तहका ४० शिक्षकको माग गरिएको थियो। त्यसका लागि ७८ जनाले परीक्षा दिए पनि २८ जना उत्तीर्ण भएका छन्। त्यस्तै दैलेखमा १३८ जना शिक्षक माग भएकोमा २२५ जनाले परीक्षा दिएका थिए। त्यसमध्ये १३० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन्। सल्यानमा ९४ जना माग गरिएकोमा २६४ ले परीक्षा दिएकोमा १७४ जना उत्तीर्ण भएका छन्। शिक्षक पदका लागि आयोगले लिएको परीक्षामा सहभागी भएका उम्मेदवार अनुत्तीर्ण भई निर्धारित कोटामा पदपूर्ति हुन नसक्ने अवस्था आएको छ।
शिक्षक हुनका लागि आवश्यक पर्ने न्यूनतम योग्यता बढाउन नसक्दा यस्तो स्थिति सिर्जना भएको वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख (उपसचिव) धीरेन्द्रप्रसाद शर्माले बताउनुभयो। उहाँका अनुसार विश्वविद्यालयका पाठ्यक्रम समयानुकूल परिमार्जन भएका छैनन्। शिक्षक, कर्मचारी र प्राध्यापकको सेवा, सुविधा, सुरक्षा, वृत्ति विकास, सम्मान आदिको अवस्थाले पनि शिक्षण पेसाप्रतिको आकर्षण घटेको उहाँको बुझाइ छ। पछिल्ला वर्षमा शिक्षक–कर्मचारीको पेसागत नैतिकता, इमानदारिता, जवाफदेहिता र नेतृत्व शैलीमा थुप्रै प्रश्नसमेत उठ्ने गरेका छन्। शिक्षकका लागि प्रतिस्पर्धा गर्नुअघि लाइसेन्स परीक्षा पास गर्नुपर्ने हुन्छ। जुन तहको लाइसेन्स परीक्षा उत्तीर्ण गरेको छ त्यसमा मात्रै आवेदन दिन पाइन्छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                