• १२ साउन २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजा एवं अवलोकन

blog

विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायणस्थित किलेश्वर महादेव मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रमेश गिरी, रासस

भक्तपुर, माघ ७ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ।

शनिबार चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उहाँले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गर्नुभयो।

राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राख्नुभयो। उहाँले भूकम्पले भत्किएको मन्दिरको जीर्णोद्धारको अवस्थाबारे  जानकारी लिनुभयो।

चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, यहाँका मन्दिर, पूजा विधि, चुनौती र जीर्णोद्धारको अवस्थामा बारेमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराउनुभयो।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभयो। मन्दिरको मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले उहाँलाई टीका, फूल प्रसाद प्रदान गर्नुभयो।

नेपाली रुपियाँ नोटमा छापिएको गरुडको छाप र चाँगुनारायण मन्दिरमा रहेको गरुडको मूर्तिको नोटमा हेरेर त्यसबारेमा राष्ट्रपति भण्डारीले जिज्ञासा राख्नुभयो। उहाँले चाँगुनारायणमा निजीस्तरबाट सञ्चालित चाँगुनारायण सङ्ग्रहालयको समेत अनुगमन गर्नुभयो।

राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख हीरामणि सुवेदीलगायतले स्वागत गर्नुभएको थियो भने सबैले यहाँको ऐतिहासिक मौलिकता झल्कने सामग्री मायाको चिनोस्वरुप प्रदान गर्नुभयो।रासस