• २१ असार २०८१, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा नियुक्त

blog

उपेश महर्जन

काठमाडौँ, माघ ३ गते ।  दाङ क्षेत्र नं. २ बाट निर्वाचित रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य रेखा शर्माले नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेललाई हराउनुभएको थियो । वि.सं. २०७० र २०७४ मा प्रतिनिधि सभामा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएकी उहाँ २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो ।

वि.सं. २०२६ साल असोज ९ गते घोराहीको मसिनामा बुवा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिनुभएकी उहाँले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।


२०४२–०४३ देखि अनेरास्ववियुको स्कुल एकाइ कमिटीबाट विद्यार्थी राजनीति होमिनुभएकी उहाँ अखिलको जिल्ला उपाध्यक्ष, २०४८ सालमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को दाङ अध्यक्ष, २०५० केन्द्रीय सदस्य, २०५१ मा वाइसिएलको केन्द्रीय सदस्य, २०५३ सालदेखि २०५७ सालसम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष हुनुभएको थियो ।

२०५७ सालमा नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नुभएकी उहाँ काठमाडौं उपत्यका उपब्युरोको इन्चार्ज हुनुभयो । २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेर नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा उहाँले कठोर यातना खेप्नुपर्‍यो ।

युद्धविराम भएर सरकार र माओवादीबीच वार्ता सुरु भएपछि २०५९ चैत ३१ गते दुवै जना मुक्त हुँदै पार्टीका क्रियाशील हुनुभयो । २०७० र २०७४ मा संसदीय दलको सचेतक हुनुभएको थियो ।