• १४ वैशाख २०८१, शुक्रबार

पोखरा विमान दुर्घटना

शव व्यवस्थापन गर्न बन्यो कार्ययोजना, बीमा भुक्तानीमा छैन समस्या

blog

बैठकको निर्णयबारे जानकारी दिनुहुँदै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ २ गते । सरकारले यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शवको व्यवस्थापन गर्न कार्ययोजना बनाएको छ ।

सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणमा बसेको बैठकले विमान दुर्घटनामा परेर मृत्यु भएकाहरुको शवको व्यवस्थापन गर्न कार्ययोजना बनाएको जानकारी दिनुभयो ।

पोखरेलका अनुसार आज बिहान मुख्य सचिवको अध्यक्षतामा बसेको गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता  थियो ।

कार्ययोजनामा शवको पोस्टमार्टम कार्यलाई कसरी चुस्त बनाई चाँडोभन्दा चाँडो परिवारको जिम्मा लगाउने, अस्पतालमा रहेका आफन्तहरुलाई कसरी सही सूचना प्रवाह गर्ने र विदेशी नागरिकको शव जम्मा गरी पोस्टमार्टम गरी कसरी छिटोभन्दा छिटो आफन्तलाई जिम्मा लगाएर पठाउने भन्ने विषयमा छलफल गरी कार्ययोजनामा समावेश गरेको पोखरेले बताउनुभयो ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाको बीमा दाबी भुक्तानी सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बीमाको भुक्तानीमा कुनै समस्या छैन, सबैको शवको पहिचान भएपछि काजगपत्र लिएर गएपछि एयरलाइन्स कम्पनीले बीमा भुक्तानीमा सहजीकरण गर्छ ।”

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चार चालक दलसहित ७२ जना सवार थिए । दुर्घटनामा परेर अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ३८ जनाको शव पहिचान भएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।