• १२ साउन २०८१, शनिबार

मतदातासँग गरिएका प्रतिबद्धता पूरा हुन्छ : नेता खड्का

blog

नवीन सुवेदी

सुर्खेत, माघ २ गते । नेपाली कांग्रेसका उपसभापति एवम् सांसद पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता कार्यान्वयनतर्फ आफू लागिरहेको बताउनुभएको छ । सांसद खड्काले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका चुनावी सभामा आफूसहित तत्कालीन गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता कार्यान्वयन हुने बताउनुभएको हो ।  

सांसद खड्काले चुनावी अभियानका क्रममा गरिएका प्रतिबद्धताप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि प्रतिबद्ध रहेको बताउनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका आमसभामा विकासका दृष्टिले पछाडि परेको कर्णालीलाई अन्य प्रदेशमा बजेट धेरै छुट्याइने उहाँले चर्चा गर्नुभयो ।

“कर्णालीको तीव्रतर विकास गरेर देशकै समृद्ध र विकसित प्रदेश बनाउने प्रस्ताव मैले राखेको छु, त्यसमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति जनाउनुभएको छ” नेता खड्काले भन्नुभयो । 

उपसभापति खड्काले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाई दिने क्रममा आफूले कर्णालीका मतदातासँग गरिएका वाचाको स्मरण गराएको पनि उहाँले सुनाउनुभयो । अहिलेको राजनीतिक समीकरणले कर्णालीको विकास र समृद्धिमा कुनै किसिमको समस्या नआउने बताउनुभयो । भेरीगङ्गा उपत्यका नमुना आधुनिक सहर निर्माणको काम अघि बढेको छ, रामघाटमा विमानस्थलको काम पनि सुरु भएको उहाँको भनाइ छ ।

प्रादेशिक सरुवा रोग अस्पताल, मदन भण्डारी राजमार्ग, १३२ केभीको विद्युत् प्रसारण लाइनसँगै अधुरा विकास योजनाले गति लिन थालेको छ, उहाँले भन्नुभयो ।