• १२ पुस २०८१, शुक्रबार

शरीरमा शक्ति बढाउने पर्व मकर संक्रान्ति

blog

काठमाडौं, माघ १ गते । माघ महिनाको पहिलो दिन आज ‘घिउचाकु सँल्हु’, माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक मुख्य पर्व हो । ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भन्ने चलन छ ।

आजको दिन विशेष रुपमा घिउ, चाकु र तीलको लड्डुखाएर मनाइने यो चाड अब सबै नेपालीको साझा बन्न थालेको छ । संस्कृतिविद्हरुका अनुसार माघे संक्रान्ति मनाउनुको केही वैज्ञानिक कारण छन् । उहाँहरुका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

संस्कृतिविद् हरिराम जोशीकाअनुसार माघे संक्रान्तिमा घिउ र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति पनि प्राप्त हुन्छ । जोशी भन्नुहुन्छ, “माघे संक्रान्तिमा नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाँदा शरीर पोषिलो हुनुका साथै निरोगी हुने जनविश्वास छ ।” 

माघ महिनामा चाकु खाने चलन हाम्रो परम्परा सँगसँगै शरीरको शक्तिसँग पनि जोडिएको जोशीको भनाइ छ । 

‘‘पहिला पर्याप्त मात्रामा लुगाकपडा लगाउने अवस्था थिएन, एक जोर लुगा अर्को ठूलो पर्व नआएसम्म प्रयोग गर्नुप¥थ्यो र धोएर सुकेपछि त्यही लुगा लगाउने चलन थिया’’, जोशी भन्नुहुन्छ, “यस्तो अवस्थामा घिउ, चाकु खाएर शरीर तताउने र चिसो छल्न सजिलो हुन्छ भन्ने विश्वास थियो ।” 

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा मन र शरीर शुद्ध गरी घिउ, चाकु र तिलको लड्डु तथा तरुल खानाले शरीरमा गर्मीका मात्रा बढ्ने र तागत दिने मान्यता छ । 

यसबाहेक माघीको दिन विशेषगरी नेवाः समुदायमा आफूभन्दा ठूलाले टाउको र पैतालामा तेल लगाएर आर्शिवाद लिने चलन छ । यसरी घाममा बसेर शरीरमा तेल लगाउँदा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । 

नेवाः समुदायमा आजको दिन बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाउने परम्परा छ । जोशी भन्नुहुन्छ, “नेवाः समुदायमा माघे सङ्क्रान्ति मनाउँदा बिहे भइसकेका छोरीको सन्तान नभएसम्म श्रीमान्को घरमा घिउ, चाकु खान नहुने चलन छ । त्यसैले छोरीहरु माइतमै आएर घिउ, चाकु खाएर माघे सङ्क्रान्ति मनाउँछन् ।”


नेवाः समुदायमा माघे संक्रान्तिको विशेष महत्व छ । आजको दिन नेवाः समुदायले चाकुमा तिल मिसाएर लड्डु खाने र दान दिने चलन छ । बिहानै उठेर स्नान गरी घरको सरसफाई गर्ने, पूजा गर्ने, चोखो गरी विभिन्न परिकारहरू तयार पार्ने र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एकअर्कालाई तेल लगाउँदै संक्रान्ति मनाउने परम्परा छ ।

जोशी भन्नुहुन्छ, “महाभारतका अनुसार भीष्मले आजकै दिन मृत्यु रोज्नुभएको थियो भने भगिरथले गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाउनुभएको थियो । त्यसैले विशेष माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।”

आजको दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा पनि मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने चलन छ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । 

माघे सङ्क्रान्तिका दिन नारायणको मूर्तिमा घिउ दलेर तिल चढाउने र चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा छ । 

त्यस्तै, यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्छ ।

अन्य समुदायमा पनि माघे संक्रान्ति आ–आफ्नै ढंगले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकुदान गर्ने चलन छ भने तराईबासी नहान पर्वको रुपमा र थारू समुदायले आजको दिनलाई माघी पर्व र नयाँ वर्षको रुपमा धुमधामसाथ मनाउने चलन छ । 

यस्तै, पोषणविद् जया प्रधानका अनुसार घिउचाकु हाम्रो शरिरका लागि आवश्यक खाद्य पदार्थ हो । चाकुबाट प्राप्त भएको आइरन शरीरले ८० प्रतिशत सम्म सोच्न सक्ने क्षमताको विकास गर्ने उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “घिउबाट कार्वोहाइड्राइट बाहेक भिटाभिन ए पनि प्राप्त गर्न सकिन्छ भने सखरमा विभिन्न पौष्टिक तत्व जस्तै कार्वोहाइड्राइट, क्यालसियम तथा आइरन पाइन्छ ।”