• १२ असोज २०८१, शनिबार

हरायो मौलिक साहित्यको सवाई गाउने चलन

blog

सवाइ गाएर जिवीका नचलेपछि रिट्ठा बेच्दै गणेश भट्टराई । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, पुस २९ गते । सुदूरपश्चिमको मौलिक साहित्यका रूपमा चिनिएको सवाई अहिले कतै सुनिँदैन । हास्यव्यङ्ग्य र मनोरञ्जनात्मक विषय सवाईको मुख्य विशेषता हो । उहिले बैतडीका भट्टारक (भट्टराई) जातिका मानिसले सवाई गाउने चलन थियो । राज्यले भट्टारक जातिको मौलिक साहित्य संरक्षण गर्न नसक्दा सवाई लोप भइसकेको छ । 

बैतडीको पाटन नगरपालिकाको सकारमा बसोबास गर्ने भट्टारक जातिले तत्कालीन राजा र समाजका ठूला कचहरीमा सवाई गाउने गर्दथे । यसका साथै भट्टारक जातिले विवाह आउने र जानेबेला मङ्गलाचरण (मन्त्र) गाउने चलनसमेत हराउँदै जान थालेको छ । भट्टराई जातिले मङ्गलाचरण गाएमा विवाहको शुभ साइत हुने जनविश्वास रहेको छ । 

डोटी राज्यका तत्कालीन राजा नागी मल्लका पालामा कुमाउ गढवालबाट डोटी आएका पण्डित नारायण भट्टारक विद्वान तथा सवाई साहित्यका ज्ञाता रहेको बताइन्छ । उहाँलाई नागी मल्लले बैतडीको सकारमा बिर्ता दिएपछि स्थायी बसोबास गरेको इतिहास छ । 

विद्वान नारायण भट्टारक सवाई मार्फत नै दरबार र जनताबीच खबर ओहोर–दोहोर गर्ने गरेको सवाईका जानकार हरि भट्टराईले बताउनुभयो । बैतडीको सकारमा करिब चार हजारको जनसङ्ख्यामा रहेका भट्टारक (भट्टराई) जातिको मौलिक साहित्य सवाई संरक्षण गर्न राज्यका कुनै पनि निकायबाट पहल नहुँदा सवाई लोप भएको उहाँले बताउनुभयो । 

राजा नागी मल्लका पालामा भट्टारक जातिलाई सवाई गाएबापत उचित पारिश्रमिक र मान पदवी पाइने गरेकोमा हाल सवाई गाएर कसैको पनि जीविकोपार्जन नहुँदा सवाई साहित्य लोप भएको उहाँले बताउनुभयो । 

भाषा साहित्यको संरक्षणका लागि स्थापना भएका प्रतिष्ठानमा समेत कुनै सहभागिता र जानकारी नपाइने सवाईका जानकार गणेश भट्टराईले बताउनुभयो । सवाई गाएर जीविकोपार्जन नहुँदा गाउँगाउँ डुलेर रिटठ सङ्कलन गर्दै जीविका चलाउन थालेको उहाँले बताउनुभयो । 

जनसङ्ख्याका हिसाबले बैतडीमा चार हजारको हाराहारीमा भए पनि भट्टारक (भट्टराई) को कला संस्कृति अमूल्य रहेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा हालै स्थापना भएको प्रदेश प्रज्ञा प्रतिष्ठानका बारेमा कुनै जानकारी नपाएको उहाँले बताउनुभयो । राज्यका नीति निर्माण गर्ने तहमा पुगेका व्यक्तिले राजनीतिक दलमा लागेका मान्छे खोज्दा नयाँ पीढीले सवाई गाउन र लेख्न छाडिसकेको उहाँले बताउनुभयो । 

तत्कालीन डोटी राज्यसँग सुमधुर सम्बन्ध रहेका भट्टारक जाति नेपाल एकीकरण र त्यसपछिको राज्य पुनर्संरचना हुँदा पनि राज्यको मूल प्रवाहमा जोडिन सकेका छैनन् ।