• १२ साउन २०८१, शनिबार

डाँडावारिको बिजुली बाउन्न वर्षपछि डाँडापारि

blog

डाँडापारि (काभ्रेपलाञ्चोक), पुस २९ गते। भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ तर काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिमा खोला फर्कन ५२ वर्ष कुर्नुप-यो । डाँडापारिका स्थानीयको नजिकको बजार खोपासीमा बिजुली बलेको ५२ वर्ष पुगिसक्यो तर यहाँका स्थानीयले ग्रामीण विद्युतीकरण र सोलारकै बिजुलीमा भर पर्ने बाध्यता थियो । 

विकासको पटक–पटक आश्वासन पाएका डाडाँपारिवासीको ठूलो सपना पूरा भएपछि स्थानीय प्रशान्त जिम्बाले तामाङ भाषामा यसरी खुसी व्यक्त गर्नुभयो, “धिनी अफेफा बेलरी मोबाइल रि टावर अखबामुबा दरेम नम्सा रि केन्द्रीय लाइन बत्ती खजी थे समस्या अरे नम्सारिन व्यवसाय लबरी ज्यबा तजी ।” अर्थात् घाम नलाग्दा फोन नटिप्ने समस्या समाधान भएको र बिजुलीले गाउँमै उद्योग खोल्ने वातावरण सिर्जना भएको छ । 

वि.सं. २०२४ सालमा खोपासी जलविद्युत् आयोजना निर्माण भएपछि पनौती आसपास बिजुली बलेको थियो । त्यसपछि नेपालमा धेरै व्यवस्था फेरिए । खोपासीबाट ७० किलोमिटरको दूरीमा रहेको साबिकका १२ वटा गाविसले बिजुली बाल्न मात्रै ५२ वर्ष पर्खनुप-यो । त्यतिबेलाका १२ वटा गाविस समेटेर बनेको महाभारत र खानीखोला गाउँपालिकामा बिजुली बाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीमा खुसी थपिएको छ । 

बिजुली त्यहाँसम्म पुग्नुमा सङ्घीयता नै कारक बनेको आभास स्थानीयवासीले गरेका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनअघिसम्म नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सम्पर्कमा नरहेका महाभारत र खानीखोला गाउँपालिकाका सर्वसाधारण बिजुली बत्तीको उज्यालोमा बस्न पाउने भएपछि खुसियाली छाएको छ । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षअघि तत्कालीन नेकपाबाट निर्वाचित जिल्लाका सांसदहरू गङ्गाबहादुर दोङ, गोकुलप्रसाद बास्कोटा, रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल र गोमा भुर्तेललाई लिएर डाँडापारि क्षेत्रको भ्रमण गर्नुभएको थियो । 

सो समयमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रमुख समस्याका रूपमा बिजुली बत्ती नपुगेको भन्दै अँध्यारोबाट उज्यालो बनाउने माग राख्नुभएको थियो । त्यसलगत्तै प्रचण्डले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको स्मरण गर्दै जिम्बाले नेपाल सरकारबाट एक अर्ब ५६ करोड रकम विनियोजन गरेर सो कार्य पूरा भएको बताउनुभयो । 

गाउँलेको सपना पूरा हुने भएपछि महाभारत गाउँपालिकाले घरमा जडान गर्ने विद्युत् मिटर खरिदका लागि एक हजार अनुदानको व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन महाभारतका सबै वडामा पुगिसकेको छ । अहिले शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको र यही वर्ष सबै घरमा बिजुली बाल्ने तयारीमा लागेको गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाले भन्नुभयो । 

केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि सो क्षेत्रमा उद्योग कलकारखाना सञ्चालनको बाटो खुलेको छ । लघु जलविद्युत् सोलार तथा अन्य वैकल्पिक उपायबाट रातको समयमा उज्यालो आउने उपायबाहेक थप केही नभएको सो ठाउँमा स्थानीय तहको निर्वाचनपछि विकासका आधारभूत आवश्यकता पूरा हुन थालेका छन् । 

यो कार्यसँगै नेपाल विद्युत् प्राधिकरणका सात हजार नयाँ ग्राहक थपिएका छन् । “जिल्लाभरिका सबै वडा कभर हुनु सानो खुसी हैन,” सुरज पराजुलीले भन्नुभयो, “यो हाम्रो पनि ऐतिहासिक जित हो ।”