• १९ वैशाख २०८१, बुधबार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

blog

काठमाडौं, पुस २८ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुईहजार एक सय ४९ दशमलव ४१ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलव २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कुल एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब तीन अर्ब १५ करोड ६९ लाख ४७ हजार छ सय २५ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु. १७ करोड ८३ लाख १० हजार आठ सय २२, ङादी पावर कम्पनी रु. १६ करोड ९४ लाख २० हजार छ सय ७०, अपि पावर कम्पनी रु. १४ करोड चार लाख ४५ हजार आठ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु. १२ करोड ८४ लाख ९९ हजार नौ सय २३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले सात दशमलव ६१ प्रतिशतले कमाउका छन् । त्यस्तै, गुराँस लघुवित्त नौ दशमलव १८, कालिका पावर कम्पनी आठ दशमलव ४८, बलेफी हाइड्रोपावर सात दशमलव ४४, स्वाभिमान लघुवित्त सात दशमलव ३१ र खप्तड लघुवित्तको शेयर मूल्य सात दशमलव ३० प्रतिशतले घटेको छ ।