जानु पाण्डे
कपिलवस्तु, पुस २७ गते । सार्वजनिक बिदाको दिन अनुमति नलिई चलाएका ४ सरकारी सवारी साधन कपिलवस्तु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएपछि त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
गोरुसिङ्गेस्थित कार्यालय र अस्थायी पोष्ट पिपराले १३ ओटा जिप र २ मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताउनुभयो । बुधबार बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका, रोल्पा नगरपालिका, टीकापुर नगरपालिका, कञ्चनपुर नगरपालिका, शितगंगा नगरपालिका र हुलाकी राजमार्ग कार्यालय लगायतको सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
सरकारी बिदाको दिन अनुमति लिएर चलाउन आग्रह गर्दै साँझ ५ बजे ती सवारी साधन छाडिएको ट्राफिक प्रहरी पोष्ट पिपराका प्रहरी नायव निरीक्षक नीरज गौतमले बताउनुभयो ।