गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १३ गते । गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारी शनिबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित हुनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वर्गीय श्रेष्ठको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा अधिकारीलाई २५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गर्नुभयो । सोही अवसरमा आयोजक नेवाः पत्रकार राष्ट्रिय दबुले वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यलाई पनि सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ सम्मान गरेको थियो । कर्माचार्य स्वर्गीय श्रेष्ठका सहकर्मी पनि हुनुहुन्छ ।
नेवाः पत्रकार राष्ट्रिय दबुले ललितपुरमा गरेको कार्यक्रममा श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्षको पहिचान दिलाउने विषयमा चर्चा गरिएको थियो । सूचना प्रविधिमन्त्री खरेलले सत्य र तथ्य दस्ताबेज प्रस्तुत गर्न आह्वान गर्नुहुँदै वास्तविक तथ्य उपलब्ध भएको अवस्थामा सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष बनाउने क्षेत्रमा आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो ।
यसै गरी श्रेष्ठकी कान्छी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । तत्कालीन दरबारसँगको सम्बन्धकै कारणले निर्वासित जीवन बिताउन भारतको कलकता पुग्नुभएका श्रेष्ठ बहुदलीय प्रजातन्त्रपश्चात् नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा काम गर्नुभएको अनुभव सुनाउनुभयो । नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्षका रूपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबुले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक राजु नापितले बताउनुभयो । सो अवसरमा मन्त्री खरेलले नेवाः पत्रकार राष्ट्रिय दबुको बुलेटिन विमोचन पनि गर्नुभएको थियो ।