• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम सभामुखका लागि दुई जनाको दावेदारी

blog

प्रकाशविक्रम शाह

धनगढी, पुस २७ गते । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि बुधबार दुई जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावलको उम्मेदवारी परेको हो ।

नेकपा (माओवादी केन्द्र) का सभामुख पदका उम्मेदवार भण्डारीको प्रस्तावकमा नेकपा (एमाले) का प्रदेश सभा सदस्य जानकी ऐर (बम) र सर्मथकमा माओवादीकै गीतादेवी माल रहनुभएको छ । 

यस्तै, नेपाली कांग्रेसका सभामुखका उम्मेदवार रावलको प्रस्तावकमा सोही पार्टीका मेघराज खड्का र सर्मथकमा पृथ्वीबहादुर सिंह रहनुभएको छ ।

सभामुख पदको बिहीबार निर्वाचन हुने कार्यक्रम छ । ५३ सदस्यीय प्रदेश सभामा सभामुख निर्वाचित हुनका लागि ५१ प्रतिशत अर्थात २७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । 

नेकपा (माओवादी केन्द्र) का सभामुख पदका उम्मेदवार भण्डारीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ती र राप्रपाको सर्मथनमा आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेश सभामा नेकपा (एमाले) का १० र नेकपा (माओवादी केन्द्र) का ११, नागरिक उन्मुक्ती पार्टीका सात र राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् । 

नेपाली कांग्रेसका सभामुखका उम्मेदवार रावल पनि आफू जित्ने दाबी गर्नुहुन्छ । उहाँले नागरिक उन्मुक्ती पार्टी र नेकपा (एकीकृत समाजवादी) लगायतको समर्थन पाउने अपेक्षा गर्नुभएको छ । 

सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ती पार्टीले सत्तारुढ गठबन्धनमा समर्थन गर्ने प्रतिबद्धता गरेको भए पनि सो दलका प्रदेश सभा सदस्यहरु अझै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को सम्पर्कमा आउनु भएको छैन ।