• १२ साउन २०८१, शनिबार

सरकार स्पष्ट योजनाका साथ आएको छ, विश्वासको मत दिनुस् : नेत्री शर्मा

blog

प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै नेत्री रेखा शर्मा । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस २६ गते । नेकपा (माओवादी केन्द्र) का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै नेत्री शर्माले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले सारेको बताउनुभयो । “प्रधानमन्त्रीले जुन प्रतिबद्धता व्यक्त गर्नुभयो, त्यो आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

सत्ता साझेदार मात्र नभई प्रतिपक्षी दलले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले सिङ्गो संसदबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

“प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा सिङ्गो संसद् उभिनेछ”, उहाँले भन्नुभयो, “मुलुकका ज्वलन्त समस्या समाधान गर्न सम्पूर्ण दल एक ठाउँमा उभिएर सहमति र सहकार्यको अवस्था सिर्जना भएको जनताले आभास गर्न पाउनेछन् ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई सुदृढ बनाउने विकल्पसहित आफूहरू राजनीतिमा आएको जनाउँदै उहाँले सरकार र संसद्लाई प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । सामाजिक न्यायसहितको सुशासन प्रवर्द्धनमा वर्तमान सरकार लागिपरेको जनाउँदै उहाँले सरकारलाई विश्वासको मत दिएर नागरिकको अपेक्षा पूरा गराउन सहयोग गर्न आग्रह गर्नुभयो ।