• १३ वैशाख २०८१, बिहिबार

मान्छेको मस्तिष्कमा ‘चिप’

blog

प्रविधिको दुनियाँमा अनौठा–अनौठा आविष्कार भइरहन्छन् । प्रविधिको प्रयोग गरेर जटिलभन्दा जटिल कामलाई पनि सहज बनाउनेदेखि दैनिक जीवनका साधारण कामलाई असाधारण किसिमले पूरा गर्न सम्भव भएको छ । 

ड्राइभरबिना चल्ने कार, गुगल ग्लास, बिग डेटा, मसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता ठूला परिवर्तन नयाँ नयाँ आविष्कार गर्ने हुटहुटीले नै वास्तविकतामा परिणत भएका हुन् । यस्तै हुटहुटीले सामान्य रूपमा कल्पना नै गर्न असम्भव प्रविधिको विकास हुँदैछ । 

भाइबहिनीहरू,  एक पटक सोचौँ त, हाम्रो मस्तिष्कले कम्प्युटरसँग कुराकानी गर्दै ठूलाभन्दा ठूला समस्या सहजै समाधान गरेको । गणितका जटिलभन्दा जटिल हिसाब सेकेन्डमै समाधान भएको । औषत मान्छेको मस्तिष्कले यस्ता काम गर्न वर्षौं मेहनत लगाउनुपर्छ तर मान्छेको मस्तिष्कले नै क्षणभरमै यस्ता काम गराउन सक्ने गरी अहिले प्रविधिको परीक्षण भइरहेको छ । 

भाइबहिनीले इलन मस्कको नाम सुन्नुभएको छ ? मस्क विश्वकै धनी व्यक्ति हुनुहुन्छ । एक महिनाअघि मात्रै उहाँले चर्चित सामाजिक सञ्जाल ट्विटर पनि खरिद गर्नुभएको छ । त्यो पनि ४४ अर्ब डलरमा । अर्थात् करिब ५७ खर्ब रुपियाँमा । अर्थात् नेपालको अर्थतन्त्रभन्दा  ठूलो रकममा । स्वास्थ्य प्रविधिसँग सम्बन्धित उहाँकै एउटा कम्पनी न्यूरालिङ्कले मान्छेको मस्तिष्कले गर्न सक्ने औषत कामभन्दा हजारौँ गुणा धेरै गर्नसक्ने  प्रविधिको विकास गरिरहेको छ । 

कम्पनीले केही समयअघि कार्यक्रमको आयोजना गरी मस्कले यो प्रविधि परीक्षणका लागि तयारीका काम भइरहेको जानकारी दिएका छन् । कम्पनीका अनुसार आगामी छ महिनाभित्र मान्छेको मस्तिष्कमा चिप जडान गर्ने योजनाका साथ काम भइरहेको छ । यस्तो चिपले मानव मस्तिष्कलाई कम्प्युटरसँग सञ्चार गर्नसक्ने दाबी छ । कम्पनीले उक्त चिप मान्छेको मस्तिष्कमा जोड्न स्वीकृति लिने काम अघि बढाएको छ । अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए)मा स्वीकृतिका लागि कागजात बुझाइसकेको कम्पनीले जनाएको छ । स्वीकृति पाउनासाथ मान्छेको मस्तिष्कमा यसको परीक्षण सुरु हुनेछ । 

न्यूरालिङ्कले विकास गरेको यो चिपको प्रयोगमार्फत दृष्टिविहीन पनि देख्न सक्ने हुने दाबी गरिएको छ । 

जन्मजात दृष्टिविहीनले पनि यस्तो सुविधा पाउने कम्पनीले जनाएको छ । त्यस्तै स्पाइनल कर्डसम्बन्धी समस्याका कारण शरीर चलाउन  र बोल्न नसक्नेलाई  चिपको प्रयोगले समाधान गरिदिने दाबी छ ।   

त्यसो त न्यूरालिङ्कले विकास गरेको चिपको यसअघि प्रयोग भइसकेको छ । त्यतिबेला बाँदरको मस्तिष्कमा राखेर परीक्षण गरिएको थियो । जहाँ बाँदरले कम्प्युटरको कर्सर चलाएको र टाइप गरेको देखिएको थियो । बाँदरको यस्तो भिडियो भाइरल नै बनेको थियो । बाँदरमा प्रयोग गरिएको चिपमा धेरैले सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रिया जनाएका थिए । 

न्यूरालिङ्कले विकास गरिरहेको चिप वायरलेस हुनेछ । यसको जडान गर्दा शरीरमा अन्य कुनै असर नपर्ने गरी गरिने कम्पनीले दाबी गरेको छ । इलन मस्कले आफ्नो प्रविधिलाई मानव क्षमताको उच्चतम प्रयोगमा लगाइने बताउँदै आउनुभएको छ । त्यस्तै शारीरिक दुर्बलतालाई चिपको प्रयोगले समाधान गर्ने भएकोले यसले फाइदा गर्ने उहाँको भनाइ छ । 

मान्छेको मस्तिष्कमा चिप राख्न न्यूरालिङ्कले भन्दा अघि पनि धेरै पटक प्रयास भइरहेका हुन् । धेरै प्रयास परीक्षणको चरणमा पुग्नै सकेनन् । अमेरिकी सरकारको स्वीकृति पाउनासाथ परीक्षण सफल बनाउने तयारीमा कम्पनी जुटेको छ ।