• १२ साउन २०८१, शनिबार

भारतले जित्यो सिरिज

blog

सिरिज च्याम्पियन भारतीय टोली । तस्बिर : एपी/रासस

काठमाडौं, पुस २४ गते । श्रीलंकाविरुद्ध टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । रोजकोटमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले श्रीलङ्कालाई ९१ रनले हरायो । यससँगै तीन खेलको सिरिज भारतले २–१ ले जितेको छ ।

भारतले दिएको दुई सय २९ रनको विजयी लक्ष्य पछ्याएको पाहुना टोली श्रीलङ्का १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि कप्तान दशन शनाका र कुशल मेन्डिसले २३/२३ रन बनाउनुभयो ।

धनन्जय डा सिल्भाले २२, चरिथ असलंकाले १९ र पथुम निशंकाले १५ रन बनाउनुभयो । श्रीलङ्कालाई सस्तैमा समेट्न बलिङमा भारतका अर्शदिप सिंहले तीन विकेट लिनुभयो । उमरान मल्लिक, हार्दिक पाण्डेय र युजभेन्द्र चहलले समान दुई दुई विकेट लिनुभयो । अर्को विकेट अक्षर पटेलले झार्नुभएको थियो । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २८ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादव अविजित एक सय १२ रन बनाउनुभयो । उहाँले ५१ बलमा सात चौका र नौ छक्काको सहयोगमा सतकीय पारी खेल्नुभएको हो ।

शुभम् गिलले ४६,  राहुल त्रिपाटीले ३५ र अक्षर पटेलले अविजित २० रन बनाउनुभयो । बलिङमा श्रीलङ्काका दिल्सान मधुशंकाले दुई तथा कुशन रन्जिथा, वानिन्दु हसरंगा र चमिका करुणारत्नेले एक एक विकेट लिनुभयो ।

यसअघि पहिलो खेलमा भारत दुई विकेटले विजयी भएको थियो । दोस्रो खेलमा श्रीलङ्का १६ रनले विजयी भएको थियो । अब दुई टोलीबीच मंगलबारदेखि तीन खेलको एकदिवसीय सिरिज हुनेछ । एजेन्सी