कालीकोट समाचारदाता
कालीकोट, पुस २४ गते । कालीकोटमा कुनै पनि दिन इन्टरनेट सेवा सहज चलेको छैन। सेवा सुरु भएयता प्रायः इन्टरनेट सेवा ठप्प जस्तै छ। नेपाल टेलिकमबाट सञ्चालित एडीएसएल सेवा लिएका इन्टरनेटका ग्राहकहरू वर्षौंदेखि मर्कामा छन्। छिटफुट नेटवर्क देखिए पनि काम भने पटक्कै गर्दैन। एडीएसएल सेवाका ग्राहक सबैभन्दा बढी मारमा छन्। निजी इन्टरनेट प्रदायक संस्था एभरेस्ट, वल्र्ड लिङ्कले भने राम्रो सेवा दिएको भन्दै त्यसतर्फ सेवाग्राही आकर्षित हुन थालेका छन्। नेपाल टेलिकमले दिने सेवाभन्दा मोबाइलमा पनि एनसेल कम्पनीको डाटा राम्रो भएको भन्दै धेरैजसोले एनसेलको सिम प्रयोग गरिरहेका छन्।
इन्टरनेट सेवाका लागि पनि नेपाल टेलिकम सेवा छोड्दै निजी कम्पनीतर्फ सर्न थालेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी स्वामित्व भएको नेपाल टेलिकमभन्दा निजी कम्पनीलाई बढी प्राथमिकता दिएका कारणले नेपाल टेलिकमको इन्टरनेट सेवा कमजोर भएको बताइएको छ।
टेलिकमका एक कर्मचारीले सरकारी सेयर भएको नेपाल टेलिकमबाट तलबबाहेक अरू केही पनि सेवासुविधा नभएकाले दूरसञ्चार प्राधिकरणले निजी कम्पनीलाई बलियो नेटवर्क सञ्चालनको अधिकार दिएर कमिसन लिने गरेको आरोप लगाउनुभयो। टेलिकमको सेवा कमजोर भएकै कारणले १५ हजार रुपियाँ शुल्क तिरेर वल्र्ड लिङ्कको इन्टरनेट राख्नेहरूको सङ्ख्या बढिरहेको छ।
मान्मका रेडियोहरूले पनि टेलिकमको सेवाबाट लाभ लिन नसकेको भन्दै निजी कम्पनीको इन्टरनेट जडान गरेका छन्। किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले नेपाल टेलिकमको इन्टरनेट सेवाले कामै नगर्ने भएकाले बाध्य भएर अरू नेटवर्क जडान गर्नुपरेको बताउनुभयो।
यता नेपाल टेलिकम कालीकोट शाखा प्रमुख प्रेमबहादुर विष्टले सरकारी स्वामित्वको कम्पनीको काम झन्झटिलो भएकाले सेवा विस्तारमा समस्या हुने गरेको बताउनुभयो। उहाँले नेपाल टेलिकमले प्राविधिक खटाएको पहिला अनुमति लिनु पर्ने हुँदा खटनपटनमै समस्या भएपछि नेपाल टेलिकमको सेवा कमजोर हुँदै गएको सुनाउनुभयो।