• १२ मंसिर २०८१, बुधबार
blog

काठमाडौँ, पुस २४ गते  । पछिल्लो दुई वर्षमा झन्डै सात लाख नेपाली स्वदेश फर्किएका छन् । श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार आ.व. २०७७/७८ र २०७८/७९ मा छ लाख ७४ हजार ९१२ जना नेपाली स्वदेश फर्किएका हुन् । 

वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सञ्चालनमा आएसँगै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क समेटिएको जानकारी दिनुभयो । विभागले २०७५ देखि नै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क राख्ने बताउँदै आए पनि यकिन तथ्याङ्क राख्न सकेको थिएन । पछिल्लो वर्षदेखि फेमिस सञ्चालनपछि मात्रै व्यवस्थित रूपमा तथ्याङ्क राख्ने गरिएको हो । 

सो अवधिमा सबैभन्दा धेरै मधेश प्रदेशमा एक  लाख ६५ हजार ९२५ जना फर्किएका छन् भने प्रदेश १ मा एक लाख ४८ हजार २४१ जना फर्किएको आप्रवासन प्रतिवेदनमा उल्लेख छ । यसैगरी सो अवधिमा लुम्बिनी प्रदेशका एक लाख १८ हजार ६६६ जना, गण्डकी प्रदेशका एक लाख आठ हजार ७७५ जना र बागमती प्रदेशका ९९ हजार १६९ जना स्वदेश फर्किएका छन् । 

कर्णाली र सदूरपश्चिम प्रदेशमा सबभन्दा कम फर्किएका छन् । कर्णाली प्रदेशका १७ हजार ३९८ जना र सुदूरपश्चिम प्रदेशका १६ हजार ७३९ जना स्वदेश फर्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सो अवधिमा सात प्रदेशका ४३ हजार ६६ महिला श्रमिक स्वदेश फर्किएका छन् । प्रतिवेदनले स्वदेश फर्किने महिला श्रमिकमा सबैभन्दा बढी बागमती प्रदेशका १८ हजार ३०६ जना जनाएको छ । 

यस्तै प्रदेश १ का १३ हजार २०४ जना महिला श्रमिक वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् भने मधेश प्रदेशका एक हजार ९७६ जना, कर्णाली प्रदेशका ५७६ जना र सुदूरपश्चिम प्रदेशका ४९५ जना महिला श्रमिक स्वदेश फर्किएका छन् । 

श्रम आप्रवासन प्रतिवेदन २०२२ ले पहिलो पटक वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सबैभन्दा धेरै मधेश प्रदेशबाट रहेको देखाएको छ । आ.व. २०७८/७९ मा मात्रै मधेश प्रदेशबाट खाडीलगायत विभिन्न देशमा छ लाख ३० हजार रोजगारीका लागि गएका छन् भने आव २०७७/७८ मा एक लाख ६६ हजार जना वैदेशिक रोजगारीका लागि गएका थिए । 

सबैभन्दा धेरै साउदीमा ३७ हजार ८२२, कतारमा ३६ हजार ३५८, मलेसियामा आठ हजार ३५६, कुवेतमा पाँच हजार १३ र बहराइनमा एक हजार ७८८ जना गएका छन् । यीबाहेक ओमान, रोमानिया, क्रोएसिया, माल्दिभ्सलगायतका देशमा जानका लागि पनि श्रम स्वीकृति लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मधेश प्रदेशपछि प्रदेश नम्बर १ बाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या दोस्रो नम्बरमा छ । गएको आर्थिक वर्षमा प्रदेश १ बाट ७० हजार ६२३ जनाले, बागमती प्रदेशबाट ५४ हजार १७ जनाले, गण्डकीबाट ४२ हजार ५३६ जनाले, लुम्बिनी प्रदेशबाट ५८ हजार ६८३ जनाले, कर्णाली प्रदेशबाट १३ हजार ४२६ जनाले र सुदूरपश्चिम प्रदेशबाट नौ हजार ५१६ जनाले वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिएका छन् ।