• १६ चैत २०८०, शुक्रबार

शीतलहरले तराईको जनजीवन प्रभावित

blog

काठमाडौँ, पुस २३ गते । पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “चोक–चोकमा दाउरा बालेर न्यानो बनाउँदै छौँ, आवश्यक परेकालाई न्यानो कपडा बाँडिरहेका छौँ।” 

मध्यतराईको बारा जिल्लाको अवस्था पनि नेपालगञ्जको जस्तै छ। शीतलहर चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो, “घामको मुख देख्न पाइएको छैन, चोकचोकमा दाउरा बालेरै ज्यान जोगाउन लागिपरेका छौँ।”

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पनि शीतलहरबाट मानिसको ज्यान जोगाउन स्थानीय तहलाई दाउरा र न्यानो कपडा वितरण कार्यलाई सक्रिय बनाइएको बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चार दिनदेखि घाम झुल्केको छैन। स्थानीय तह र सुरक्षाकर्मीसमेत चोकचोकमा दाउरा पु¥याउन व्यस्त रहेको जानकारी दिनुभयो। पूर्वको सुनसरी र मोरङको तराई भेगको अवस्था पनि शीतलहरमय बन्दैछ। स्थानीयवासी न्यानोको खोजीमा घरदैलो अगाडिको सरकारको मुख ताक्न बाध्य छन्। 

चोकमा आगो, घरभित्र ठिही

शीतलहरले आक्रान्त बनेको जनजीवन सहज बनाउन चोकमा दाउरा बाल्नुको विकल्प स्थानीय र सङ्घीय सरकारले देखेको छैन। चोकमा आगो तापुन्जेल न्यानो हुन्छ तर घर फर्केपछि सिरेटोमा रात बिताउन बाध्य छन् स्थानीय बासिन्दा। फुसको घर र न्यानो कपडाको अभावले धेरै जना जाडोयाममा रातभर निदाउन सक्दैनन्। 

तराईका चोक–चोकमा घुर (परालको आगो) बालेर ताप्ने परम्परागत चलन छ। त्यही चलनलाई बढावा दिँदै हिउँदको शीतलहरमा सङ्घीय सरकार र स्थानीय सरकारले पनि चोक–चोकमा दाउरा उपलब्ध गराएर चिसो भगाउने प्रयत्न गरिरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू बताउनुहुन्छ। 

परम्परावादी सरकार

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले शीतलहर चल्ने र हिमपात हुने भेगमा चिसोबाट नागरिकको ज्यान जोगाउन सरकारका तर्फबाट आवश्यक पहल गर्नु भनेर हरेक जिल्ला प्रशासनलाई पत्र काटेको बताउनुभयो। चोकमा दाउरा बाल्दा समूहमा आगो ताप्ने र न्यानो हुने भएकाले पनि त्यसलाई बढावा दिइएको उहाँले स्पष्ट पार्नुहुन्छ। 

अशक्त, बालबालिका र महिलाको पहुँच त्यस्ता चोकमा बालिने दाउराको आगोमा न्यून रहन्छ। घर अगाडि नै छ भने अबेरसम्म ताप्छन्। फेरि ठिहिरिँदै घरमा फर्कनुपर्ने भएकाले लामो समय नबस्ने स्थानीय शिक्षक वीरेन्द्र मिश्र बताउनुहुन्छ। सबैका घरघरमा दाउरा पु-याउन सरकारको स्रोत साधनले नभ्याउने टिप्पणी प्रवक्ता पोखरेल गर्नुहुन्छ तर गरिब तथा विपन्नको पहिचान गरेर कम्बल र न्यानो कपडा वितरण गर्ने कार्यलाई बढावा दिन सकिने पोखरेलले बताउनुभयो। चिया पसलछेउ, बजारका चोक तथा टोलका मुख्य चोकलाई दाउरा बाल्ने स्थानका रूपमा तय गरिएको हुन्छ। अहिलेको चिसोमा एउटा वडालाई १४ चट्टासम्म दाउरा उपलब्ध गराइएको दाबी बाराका प्रमु्ख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल गर्नुहुन्छ तर त्यस्ता भीडभाडयुक्त स्थानमा गरिब विपन्नको भन्दा हुनेखाने र बलियाबाठा नै बढी पुग्ने गरेका रौतहट दुर्गाभगवती गाउँपालिका–२, भलोहियाका भरतदास तत्मा बताउनुहुन्छ। 

“चोकमा एक हप्ताअघि झारेको दाउरा सकियो,” तत्मा भन्नुहुन्छ, “मजस्ताका बूढी र अन्य महिला पनि अर्काले बालेको आगो ताप्न जाने चलन छैन, चिसो भए पनि घरमै बस्छन्।” त्यस्ता बस्तीका बूढाबूढी ठिहीका कारण बारम्बार बिरामी पर्ने गरेका छन्। उहाँजस्तै दलित, गरिब तथा विपन्न समुदाय रहेका कतिपय टोलमा आगो बाल्ने स्थान पनि हुँदैन। यसपालि न्यानो कपडा बाँड्न आएका छैनन्। त्यसमा पनि पहुँचवालाले छिटो पाउने गरेको दुखेसो स्थानीयवासीको रहेको छ। 

शीतलहरले मृत्यु भएको छैन 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन वर्षयता शीतलहरबाट एक जनाको पनि मृत्यु भएको छैन। प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले २०७६, ०७७ र ०७८ सालमा एक जनाको पनि शीतलहरबाट मृत्यु नभएको तथ्याङ्क रहेको जानकारी दिनुभयो। 

तर तराईको अवस्था भने यो तथ्याङ्कविपरीत छ। हरेक हिउँदमा मानिसले ज्यान गुमाउँछन्। चिसोले बिरामी भएर मृत्यु हुँदा त्यसलाई शीतलहरले मरेको मानिँदैन। विपन्न वर्गका घरमा बूढाबूढीलाई जोगाउन शीतलहरमा निकै सकस पर्ने गरेको भलोहियाका तत्मा बताउनुहुन्छ। गत वर्ष एक जना वृद्धको ज्यान गयो। वृद्धवृद्धाको शरीर त्यसै कमजोर हुन्छ।  कमजोरीकै अवस्थामा एक जना वृद्ध पोहोरको हिउँदमा बितेको जानकारी उहाँले दिनुभयो।

प्राधिकरणका प्रवक्ता भट्टराई भने स्थानीय पालिकाले शीतलहरबाट मृत्यु भएको प्रमाणित गरेपछि मात्र वैध मानिने बताउनुहुन्छ। त्यस्तो नहुँदा चिसोले मर्नेका परिवारले सरकारबाट पाउने आर्थिक राहत पाउनबाट समेत वञ्चित छन्। आगलागी, बाढीपहिरोलगायतका विपत्मा जस्तै शीतलहरबाट मृत्यु भएका नागरिकका परिवारले पनि राहत रकम पाउन सक्ने व्यवस्था छ। श्वास–प्रश्वासमा समस्या, निमोनिया र रुघाखोकी लागेर चिसोमा मानिस मर्छन्। त्यस्तो मृत्युलाई शीतलहरका कारण भनेर प्रस्ट्याउन स्थानीय पालिकाले सकेका छैनन्। 

प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले सिधै प्राधिकरणले काम गर्नसक्ने कानुनी व्यवस्था नरहेको बताउनुभयो। प्राधिकरणले सचेतना जगाउने, विपत्को तथ्याङ्क राख्ने र समन्वय गर्ने भूमिका मात्र भएकाले शीतलहरका बेला पनि त्यही भूमिका निभाइरहेको प्रष्ट्याउनुभयो। 

अझै शीतलहर जारी

नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको हो। पाँच दिनयता तराईमा घाम नलाग्ने, चिसो बढेसँगै शीतलहर चल्ने क्रम जारी रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो। योसँगै हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ। 

चिसो बढेसँगै शीतलहरले तराई भेगमा अन्यत्रभन्दा ५ डिग्री सेल्सियस अधिकतम र न्यूनतम तापक्रममा एकै पटक गिरावट आएको छ। भैरहवा, सिमरा, जनकपुर, सुनसरी, बाँकेलगायतका तराई क्षेत्रमा शीतलहरको चाप बढ्ने भएकाले जिउधनको रक्षा गर्न सरकारसँग महाशाखाले अपिल गरेको छ। 

कसरी चल्छ शीतलहर ?

चिसो मौसममा पहाडी र तराई भेगको तापक्रमको उतारचढाव भौगोलिक अवस्थाअनुसार फरक–फरक प्रक्रियामा हुन्छ। विशेषगरी जाडोको समयमा पृथ्वीभित्रको तापक्रम वायुमण्डलमा जाने क्रममा पहाडमा हुस्सु र कुहिरो बनेर बस्छ। तराईमा शीतलहर बनेर फेरि जमिनमै चिसो फर्किन्छ। जलवायु विश्लेषक इन्दिरा कँडेलले भन्नुभयो, “तराईको समथर भौगोलिक अवस्थाका कारण जमिनको तापक्रम वाष्पीकरण भएर माथिल्लो वायुमण्डलमा पुग्न सक्दैन, चिसोका कारण शीतका रूपमा फर्किन्छ। तापक्रमको यो उतारचढावका विषयमा थप अध्ययन हुन बाँकी रहेको कँडेलले बताउनुभयो।” यो अवस्थाको अन्त्य हुन कि त वर्षा हुनुपर्छ, कि त ठूलो हावाको प्रवाह आउनुपर्छ। जमिनको नजिकै वाष्पीकरण भएर बस्ने भएकाले त्यसै हट्दैन।