• १२ साउन २०८१, शनिबार

नेपाल टी–२० क्रिकेट : जनकपुर प्लेअफमा

blog

नेपाल टी–२० क्रिकेट लिगमा प्रतिस्पर्धा गर्दै जनकपुर र पोखराका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, पुस २१ गते । जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । 

जितका लागि पोखराले दिएको ६९ रनको लक्ष्य पछ्याएको जनकपुले नौ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जनकपुरका लागि सरफुदिन असरफले ३७ रन बनाउनुभयो । कप्तान ट्राभोन ग्रिफिथ १७ र पवन सराफले अविजित चार रन जोड्नुभयो । बलिङमा पोखराका लागि कुशल मल्लले तीन र असिथा फर्नान्डोले एक विकेट लिनुभयो । 

यसअघि पहिलो गरेको पोखराले १२ ओभरमा सबै विकेटको क्षतिमा ६८ रन बनाएको थियो । पोखराका लागि सिद्धान्त लोहनी १७ रन बनाउनुभयो । आसिफ शेख र कुशल मल्लले १६/१६ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । 

पोखरालाई सस्तेमा समेट्न बलिङमा जनकपुरका सोमपाल कामीले तीन विकेट लिनुभयो । सरफुदिन असरफ र ललित नारायण राजवंशीलेदुई दुई विकेट लिनुभयो । जनकपुर प्लेअफमा पुग्ने दोस्रो टोली हो । यसअघि लुम्बिनीले प्लेअफमा स्थान बनाईसकेको छ । 

फार वेस्टको फराकिलो जित

यसैगरी त्रिवि मैदानमा भएको अर्को खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्समाथि फराकिलो जित निकालेको छ । काठमाडौंलाई ८४ रनले हराएको फार वेस्टले जितसँगै प्लेअफमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । 

जितका लागि फार वेस्टले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १४ रनमा समेटिएको थियो । काठमाडौंका लागि कमलसिंह ऐरीले २० रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले १७/१७, सुनाम गौतमले १६, विरनदिप सिंहले १४ र सन्तोष कार्कीले १२ रन बनाउनुभयो । 


बलिङमा फार वेस्टका करण केसी, दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले दुई दुई विकेट लिनुभयो । मिलण्डा सिरिवर्धने, प्रकाश जैसी र शेर मल्लले दुई दुई विकेट झार्नुभयो । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । 

फार वेस्टका लागि हसमतुल्लाह शाहिदीले ७६ रन बनाउनुभयो । विनोद भण्डारीले ७३ र करण केसीले अविजित २२ रन बनाउनुभयो । बलिङमा काठमाडौंका बसिर अहमदले तीन विकेट लिनुभयो । अभिनाश बोहोराले एक विकेट लिनुभयो । बिहीबारको खेलसँगै शीर्षस्थानमा रहेको लुम्बिनीको १६ अंक छ ।

दोस्रो स्थानमा रहेको जनकपुरको १२, तेस्रो स्थानमा रहेको काठमाडौंको आठ, चौथो स्थानमा रहेको विराटनगरको ६, पाँचौं स्थानमा रहेको पोखराको ६ र अन्तिममा रहेको फार वेस्टको चार अंक छ । पुस २७ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।