हुम्ला समाचारदाता
हुम्ला, चैत ८ गते । हिमाली जिल्ला हुम्लाको एउटा विद्यालयमा आठौँ पटक शिक्षक भर्नाका लागि सूचना प्रकाशन गर्दा पनि कसैको आवेदन पर्न सकेको छैन । जिल्लाको सर्केगाड गाउँपालिका–१ को जैरगाउँको सरस्वती माध्यमिक विद्यालयले शिक्षक भर्नाका लागि पटक पटक सूचना प्रकाशन गर्दा पनि शिक्षकको आवेदन नपरेको हो ।
माध्यमिक तहको शिक्षक भर्नाका लागि आठौँ पटक सूचना प्रकाशन गर्दा पनि कसैको आवेदन नपरेको विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले बताउनुभयो । विज्ञान र गणित विषय पठनपाठनका लागि मावि तहको शिक्षक भर्नाको सूचना प्रकाशन गर्दा पनि कसैको आवेदन नपर्नु भनेको दुर्गममा शिक्षक आउनै नमान्नु रहेको उहाँको भनाइ छ । शिक्षक भर्नाका लागि सूचना निकाल्ने र त्यसका लागि उक्त विषय शिक्षकको खोजीमा लाग्दा पनि कुनै पनि व्यक्ति आउनै नमान्ने गरेको बताउँदै उहाँले शिक्षक भर्नाका लागि पुनः चैत ३ गते नवौँ पटक सूचना प्रकाशन गरिएको बताउनुभयो । चैत १० गतेसम्म आवेदन दिन सकिने सूचना निकाले पनि हालसम्म कोही पनि सम्पर्कमा आएका छैनन् ।
शिक्षक भर्नाका लागि गत भदौ ५ गते एक हप्ताको मिति राखेर पहिलो सूचना निकालिएको थियो । सूचना निकाल्दा पनि कसैको आवेदन नपर्दा गत मङ्सिर महिनासम्म आठौँ पटक सूचना निकालिएको थियो । त्यसपछि वार्षिक परीक्षा र हिउँदे बिदा भएका कारण रोकिएको शिक्षक भर्नाका लागि सूचना निकाल्ने कार्य अहिले पुनः सुरु भएको छ । गणित र विज्ञान शिक्षक भर्ना गर्न नसकिएपछि कक्षा ९ र १० मा ती विषयको पठनपाठन कार्य गत भदौबाटै रोकिएको छ । कक्षा ९ मा २९ जना र १० मा १५ जना विद्यार्थी छन् । शिक्षक भर्ना गर्न नसकिएपछि यस पटकको एसइई परीक्षामा उक्त विद्यालयबाट सहभागिता जनाउने विद्यार्थीले आफैँ तयारी गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास रावतले बताउनुभो । नयाँ शैक्षिक सत्र सुरु भएर पढाइ पनि सञ्चालन भइसकेको छ । कक्षा ९ र १० मा विज्ञान र गणित विषयबाहेक अन्य विषयको अध्ययन भइरहेको छ । शिक्षक भर्नाका लागि यो समस्या देखिएपछि वडाले अतिरिक्त भत्ताको व्यवस्था गर्न सकिने जनाएको भए पनि शिक्षक भर्ना गर्न नसकिएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो ।