• ८ चैत २०८२, आइतबार

वर्षाले सप्तरीको इँटा उद्योगमा करोडौंको क्षति

blog

पानिमा भिजेको इँटा । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ८ गते ।
शुक्रबार र शनिबार भएको वर्षाका कारण सप्तरीका इँटा व्यवसायीहरु मर्कामा परेका छन् ।
घाममा सुकाउन राखिएको इँटा पानिमा भिजेर गलेपछि इँटा व्यवसायीहरु मर्कामा परेका हुन् ।

शम्भुनाथ नगरपालिका वडा नम्बर ४ स्थित सञ्चालनमा रहेको न्यु काली माँ पण्डित इँटा उद्योगका सञ्चालक कृष्णदेव पण्डितले घाममा सुकाउन राखिएको १२ लाख इँटा पानीमा भिजेर नष्ट भएको बताउनुभयो । जिल्लामा हाल सञ्चालनमा रहेको ४५ वटा इँटा उद्योगको हाल पनि यस्तै रहेको उहाँले बताउनुभयो ।

“भट्ठी (चिमनी) मा पकाउन बाँकी रहेको मेरो मात्रै १२ लाख इँटा पानिमा भिजेर नष्ट भएको छ, अरु साना इँटा उद्योगहरुमा पनि कम्तिमा पनि पाँच लाखको दरले इँटा नष्ट भएको छ,’’ उहाँले भन्नुभयो ।

एउटा काँचो इँटा बनाउन प्रति इँटा चार रुपियाँ ३८ पैसा खर्च हुने गरेको भन्दै पण्डितले जिल्लाको सबै इँटा उद्योगहरुमा करोडौंको क्षति भएको दुखेसो पोख्नुभयो ।

सरकारी नीतिका कारण वर्षेनी यहाँका इँटा उद्योगीहरुले क्षति बेहोर्दै आएको गुनासो पोख्दै उहाँले मङ्सिर १ देखि भट्ठामा आगो सल्काउन दिएर चैत १ गते बन्द गर्ने नीति नआएसम्म इँटा उद्योगीले यस्तो पीडा भोगी राख्ने बताउनुभयो । “अहिले माघ १ देखि भट्ठामा आगो सल्काउने नियम छ, चैत आउन वितिकै पानी पर्छ र हामी मार्कामा पर्दै आएका छौं ।’’ पण्डितले सुनाउनुभयो ।