गाेरखापत्र समाचारदाता
काठमाडाैँ, पुस १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न मन्त्रालयको काम कारबाहीबारे जानकारी लिनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई बोलाई त्यसका काम कारबाहीको विवरण लिनुभएको हो ।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायहरूको काम कारबाहीको जानकारी लिने काम सुरु गर्नुभएको नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिनुभयो । त्यसक्रममा सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरूले भोग्नु परेको समस्याका बारेमा प्रधानमन्त्री प्रचण्डसमक्ष ब्रिफिङ गर्नुभएको थियो ।
मुख्य सचिव वैरागीले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन भोलि आउँछ । हामी छलफलकै क्रममा छौँ । विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ । केही निकायहरू बाँकी छन् । त्यो भोलि सबैको विवरण लिइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन आउँछ । सरकार प्रमुखका रूपमा विभिन्न मन्त्रालय, निकायहरूले कसरी काम गरिरहेका छन् ? के भइराखेको छ । हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वाभाविक प्रक्रिया नै हो । त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरूले आ–आफ्नो मन्त्रालयका इस्यूहरु र आफूले भोग्नु परेका समस्याबारे राख्नु भएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट भोलि सम्बोधन हुन्छ ।’
तर सबै मन्त्रालयका सचिवहरूले आजै सबै विवरण भने प्रधानमन्त्रीसमक्ष पेस गर्न सकेका छैनन् । मुख्यसचिव वैरागीका अनुसार भोलि पुनः छलफल हुने र प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई निर्देशन दिनुहुनेछ । प्रधानमन्त्री भएपछि उहाँले पहिलो पटक विभिन्न मन्त्रालयका काम कारबाहीबारे चासो लिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।