• ४ जेठ २०८१, शुक्रबार

तेब्बरले घट्यो खाने तेलको निर्यात

blog

काठमाडौँ, पुस १८ गते ।  चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो ।  

चालू आवको पाँच महिनामा पाम तेलको निर्यात ६० प्रतिशत घटेर १० अर्ब ८७ करोड रुपियाँको निर्यात भएको छ । खानामा बाहेक भारतमा खासगरी शृङ्गार सामग्री र साबुन उत्पादनका लागि पनि पाम तेल निर्यात हुने गरेको छ । भटमास तेलको निर्यात ७७ प्रतिशतले घटेर छ अर्ब ९८ करोड र सूर्यमुखी तेल ९० प्रतिशतले घटेर २२ करोड ३१ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । 

विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा मुलुकको समग्र निर्यात ३४ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपियाँको निर्यात भएको छ । समग्र निर्यातमा २६ प्रतिशत योगदान पाम, भटमास र सूर्यमुखी तेलको रहेको छ । गत वर्ष पाँच महिनामा मुलुकबाट एक खर्ब २९ अर्ब २० करोड रुपियाँ बराबरको समग्र वस्तुको निर्यात भएको थियो । त्यतिबेला पाम, भटमास र सूर्यमुखी तेलको कुल निर्यातमा ५८ प्रतिशत योगदान थियो ।  

भारत सरकारले कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएसँगै पाम, सूर्यमुखी र भटमास तेलको निर्यातमा कमी आएको हो । व्यवसायीले कच्चा पदार्थ आयात गरेर मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने गरेका थिए । 

व्यापारविज्ञ रविशङ्कर सैँजूले भारतले पाम तेलमा भन्सार महसुल घटाएका कारण निर्यातमा उल्लेख्य कमी आएको जानकारी दिनुभयो । यसअघि भन्सार महसुल उच्च हुँदा नेपालबाट ठूलो परिमाणमा तेल निर्यात हुने गरेको थियो । पाम तेलको भन्सार शुल्क घटेका कारण अन्य मुलुकबाट व्यवसायीले आयात गर्न थालेपछि निर्यात ह्वात्तै घटेको उहाँले जानकारी दिनुभयो । पाम तेलको निर्यात बढेको कारण गत वर्ष समग्र वस्तुको निर्यातमा वृद्धि भएको थियो ।

भारत सरकारले खाने तेलको कच्चा पदार्थको भन्सार महसुल शून्य बनाएको छ । आगामी सन् २०२४ को मार्चसम्म लागू हुने गरी खाने तेलको कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएको हो । भारत सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य र जीएसटी ५ प्रतिशत कायम गरेको छ । नेपालमा कच्चा पदार्थ आयातमा भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । भारत सरकारले कच्चा पदार्थको आयातमा शून्य भन्सारदर कायम गरेसँगै तेलको मूल्य सस्तो, माग कम भएको व्यवसायीको भनाइ छ ।  

यसअघि भारतले कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दा नेपालबाट निर्यात हुने तेलभन्दा महँगो पथ्र्यो । नेपालबाट उच्च परिमाणमा तेल निर्यात भएको थियो । नेपालमा तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा उत्पादन हुँदैन । 

व्यवसायीले इन्डोनेसिया, अर्जेन्टिना, मलेसिया, युक्रेन, रसियालगायत अन्य विभिन्न देशबाट कच्चा पदार्थ आयात गर्दै आएका छन् । सोही आयातित तेल प्रशोधन गरी उद्योगी व्यवसायीले आन्तरिक बजारमा आपूर्ति गरेसँगै भारतमा समेत निर्यात गर्दै आएका छन् ।