• ३० चैत २०८२, सोमबार

सिमकोट–हिल्सा सडक चार दिनदेखि बन्द

blog

सिमकोट–हिल्सा सडकको लाग्ना खण्डमा स्थानीयवासी सडकमा बसेर अवरोध गर्दै। तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत ३० गते । सिमकोट–हिल्सा सडकको लाग्ना खण्डमा सिमकोट गाउँपालिका–७ डाँडाफयाँका स्थानीयवासीले चार दिनदेखि सडक अवरुद्ध गरेका छन्। सो क्षेत्रमा सडक निर्माणका क्रममा चट्टान विस्फोट गर्दा खसेका ढुङ्गाले सामुदायिक वनमा क्षति पु¥याएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

सिमकोटबाट हेक्पा खोलासम्म सडक निर्माणका क्रममा लाग्नास्थित चट्टानी भीरमा विस्फोट गर्दा खसेका ढुङ्गाले सडक तल रहेको सामुदायिक वनका सल्लाका रुख भाँचेको निर्माण कम्पनी गौरी गणेश तीर्थ एण्ड राज्य रिजन जेभी का प्रतिनिधि इन्द्र लामाले बताउनुभयो। उहाँका अनुसार यही विषयलाई लिएर स्थानीयले चार दिनदेखि सडक अवरुद्ध गरिरहेका छन्।

सामुदायिक वनमा पुगेको क्षतिको क्षतिपूर्तिस्वरूप स्थानीयले आठ लाख रुपियाँ माग गरेका छन्। उक्त रकम तत्काल उपलब्ध गराउन नसकिने जानकारी गराउँदा स्थानीय सडकमा बसेर अवरोध गरिरहेको उहाँले बताउनुभयो।

यसरी वन क्षेत्रमा पुगेको क्षतिको क्षतिपूर्ति दिने व्यवस्था हाल योजनामा नभएको हिल्सा–सिमकोट सडक योजना ले जनाएको छ। सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा बन्द हुँदा पैदल यात्रुसमेत मर्कामा परेका छन्।

लाग्नामा स्थानीयले सडक अवरुद्ध गरी यातायात सेवा बन्द गराएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक शंकर खड्का ले बताउनुभयो। उहाँका अनुसार सडक खुलाउने तयारी भइरहेको छ।