• ३० चैत २०८२, सोमबार

मानव अङ्ग प्रत्यारोपणमा उल्लेख्य सफलता

blog

गोरखापत्र समाचारदाता

भक्तपुर, चैत ३० गते । मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले स्थापित सरकारमातहत रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो छ महिनाको अवधिमा एक सय जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ । सानो भवन तथा स्रोतसाधन सीमित हुँदाहुँदै  पनि निरन्तर सेवा विस्तार गरिरहेको केन्द्रले छोटो समयमै प्रत्यारोपणमा सफलता हासिल गरेको हो । केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठको नेतृत्वमा युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो । 

कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्र स्थापना भएको १३ वर्षको अवधिमा हालसम्म एक हजार ६०६ जनामा मिर्गौला तथा ३६ जनामा कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको जानकारी दिँदै केन्द्रमा हाल हप्तामा औसत पाँचदेखि छ जनासम्मको मिर्गौला प्रत्यारोपण हुँदै आएको बताउनुभयो । केन्द्रले प्रत्यारोपण सेवामा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको, एकै दिन चार जनामा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिएको, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण, एउटै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण तथा एउटै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण जस्ता जटिल र महìवपूर्ण उपलब्धि हासिल गरिसकेको उहाँ बताउनुहुन्छ । उहाँले यी उपलब्धि विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको समन्वय र निरन्तर प्रयासबाट सम्भव भएको भन्दै नेफ्रोलोजी, एनेस्थेसिया, युरोलोजी, कार्डियोलोजी, प्याथोलोजी, रेडियोलोजी, नर्सिङ तथा प्रशासनलगायतका विभागको संयुक्त सहकार्यले सेवा प्रभावकारी बनेको उल्लेख गर्नुभयो । 

कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रले प्रत्यारोपण सेवामार्फत देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । उहाँका अनुसार अङ्ग प्रत्यारोपणसँगै हेमोडायलाइसिस सेवा देशका सातै प्रदेशमा विस्तार गर्ने काममा पनि केन्द्रले सक्रिय भूमिका खेलेको बताउनुभयो । उहाँले स्रोतसाधन सीमित हुँदा पनि देशभर हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ सेवा यही केन्द्रबाट प्रदान भइरहेको जानकारी दिनुभयो । विदेशमा मिर्गौला तथा कलेज प्रत्यारोपणका लागि जाँदा करोडौँ खर्च हुने गरेको बताउँदै डा. श्रेष्ठले नेपालमा संसारकै सस्तोमा अङ्ग प्रत्यारोपण हुने गरेको दाबी गर्नुभयो । उहाँका अनुसार प्रत्यारोपणको नाममा विदेश जाने वार्षिक छ अर्ब रुपियाँ केन्द्रले बचाएको छ ।

प्रत्यारोपण शल्यचिकित्सक डा. दिपेश श्रेष्ठले चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा दुई सय जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।