• २३ असार २०८१, आइतबार

दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तयारी

blog

कम्प्युटर शिक्षा तालिम सञ्चालनबारे जानकारी गराइँदै । तस्बिर – चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर साक्षरता अभियानमार्फत् राइट स्टेप एजुकेसन एकेडेमी नामक संस्थाले कम्प्युटर शिक्षा प्रदान गर्ने भएको हो । 

सदरमुकाम फुङ्लिङमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था राइट स्टेप एजुकेसन एकेडेमीले एक वर्षभित्र दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने जनाएको छ । कम्प्युटर शिक्षाअन्तर्गत बेसिक प्रोग्राम (आधारभूत ज्ञान)देखि हार्डवेयर कोर्ष सम्मको सीप प्रदान गरिने संस्थाका निर्देशक दीपेन्द्र शर्मा पौडेलले जानकारी दिनुभयो । 

ताप्लेजुङमा स्थानीय पाथीभरा कम्प्युटर ट्रेनिङ सेन्टरको सहकार्यमा तालिम प्रदान गर्न लागिएको संस्थाका निर्देशक पौडेलले बताउनुभयो । स्वरोजगार बन्नमा सहयोग पु¥याउने उद्देश्यसहित कम्प्युटर शिक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्नेगरी तालिम सञ्चालन गर्न लागेको पनि निर्देशक पौडेलले बताउनुभयो । 

उहाँले विद्यार्थीलाई कम्प्युटर सम्बन्धी एकवर्षे कोर्षमा सामान्य कार्यालयमा प्रायोजनमा आउने कम्प्युटर सीपअन्तर्गत बेसिक, डिजाइनिङ, एकाउन्टिङ, प्रोग्रामिङ र हार्डवेयर नेटवर्किङ शिक्षा पढाइने बताउनुभयो । कम्प्युटर शिक्षा सिक्नेका लागि योग्यता न्युनतम् एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने छ । तालिमका लागि एकजना विद्यार्थीले पाँचदेखि नौ हजार रुपियाँसम्म वार्षिक शुल्क तिर्नुपर्ने पनि संस्थाले जनाएको छ ।

यता फरक क्षमता भएका (अपाङ्गता), अभिभावक बिहीन, कमजोर आर्थिक अवस्था भएका र क्षमतावान् जेहेन्दार विद्यार्थीलाई सहुल्यत र निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने पनि संस्थाले जनाएको छ । कम्प्युटरमा अनुभव तथा दक्षता हासिल गरेका शिक्षकले कम्प्युटर अध्यापन गराउने छन् । यो तालिम सञ्चालन गर्न फुङ्लिङ नगरपालिकासँगसमेत समन्वय गरिरहेको संस्थाका निर्देशक पौडेलले बताउनुभयो । 

कम्प्युटर शिक्षाजस्तो प्राविधिक ज्ञान तथा सीप सिक्न इच्छुक विद्यार्थीलाई सहयोग पु¥याउन तालिमका लागि राइट स्टेप एजुकेसन एकेडेमीसँग सहकार्य गरेको पाथीभरा कम्प्युटर ट्रेनिङ सेन्टरका प्रतिनिधि सचिन शेर्पाले बताउनुभयो । यस अभियानलाई सफल बनाउन स्थानीय संस्थाको हैसियतले आफूहरु बढी जिम्मेवार भएर लागिपर्ने शेर्पाले बताउनुभयो । 

विद्यार्थीको प्रवेश परीक्षासहितका प्रक्रिया पूरा गरेर आउँदो पुस २५ गतेदेखि कम्प्युटर कक्षा सुरु गर्ने तयारी गरिएकोसमेत आयोजकले जनाएको छ । कपिलवस्तुदेखि सुरु भएको अभियान ताप्लेजुङ आइपुग्दासम्म ५९ जिल्लामा संस्थाले कम्प्युटर शिक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ । अभियान निरन्तर विस्तारको क्रममा रहेको पनि संस्थाका निर्देशक पौडेलले जानकारी दिनुभयो ।