• १९ असोज २०८१, शनिबार

विद्यालयहरूमा उपचारात्मक कक्षा सञ्चालन

blog

मीना कंडेल

कावासोती, पुस १२ गते । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका विद्यालयहरूमा उपचारात्मक कक्षा सञ्चालन गरिएको छ । कमजोर विद्यार्थीहरूलाई विशेष समय दिएर उनीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सञ्चालन गरिएको हो । 

विशेष गरी नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र  कमजोर विद्यार्थीको सिकाइस्तरमा उठाउने उद्देश्यले उपचारात्मक कक्षा सञ्चालन गरिएको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डेले बताउनुभयो । नगरपालिकामा रहेका सबै विद्यालयहरूमा विद्यार्थीहरूको शैक्षिक स्तर मापन गर्ने कार्य भएको छ । विद्यालय आफैले परीक्षा मार्फत विद्यार्थीहरूको शैक्षिक स्तर मापन गरेर पहिलो , दोस्राे र  तेस्राे गरी तीन वर्गमा विभाजन गरेका छन् ।

विद्यालयहरूमा कोचिङका रुपमा सञ्चालन हुने कक्षालाई नगरपालिकाले उपचारात्मक कक्षाका रुपमा निःशुल्क रुपमा सञ्चालन गरेको हो । शिक्षकहरूले पनि यस कार्यलाई सकारात्मक रुपमा लिएर सहयोग गरेको पाण्डेको भनाइ छ । उपचारात्मक कक्षा दुई महिना सञ्चालन हुनेछ । परीक्षामा विद्यार्थीहरूको राम्रो नतिजाको लागि दुई महिना कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।