• १३ असार २०८१, बिहिबार

म्याग्दे गाउँपालिकाद्वारा निस्सा वितरण सुरु

blog

म्याग्दे गाउँपालिकाद्वारा निस्सा वितरण गरिँदै । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ पुस ११ गते । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण सुरु गरेको छ । निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको भूमिहीनहरूले बताएका छन् । अब हाम्रो भन्न पाइने भयो भन्दै नेताहरूले बोलेको कुरा पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरेका थिए ।

पालिकाले वडा नं. १ बाट वितरण सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, राष्ट्रिय भूमि आयोगको जिल्ला सदस्य सर्वदा खनाल घिमिरे, वडाध्यक्ष मणिभद्र वाग्लेले निस्सा वितरण गर्नुभयो । 

गाउँपालिकाका अनुसार अव्यवस्थित बसोवासीमा एक हजार १५३ जना, भूमिहीन सुकुम्वासी ६५ जना, भूमिहीन दलित ८५ जनाले फर्म भरेका मध्ये म्याग्दे–१, मा अव्यवस्थित तर्फ ११७ जना, भूमिहीन सुकुम्वासीतर्फ १५ जना र भूमिहीन दलिततर्फ २५ जना गरी कुल १५७ जनालाई निस्सा वितरण गरिएको  छ । लगत सङ्कलन कार्यविधिको अनुसूची ३ र ४ बमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरूप अनुसूची ६ बमोजिमको निस्सा भरेर उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।


कार्यक्रममा गाँउपालिका अध्यक्ष श्रेष्ठले सुकुम्वासी र भूमिहिनलाई जग्गाको स्वामित्व दिलाउने कामको शुरुवात भएको बताउनुभयो । अब प्रक्रिया अन्तर्गत अन्य काम हुनेछन् । निस्सा वितरणको आधारमा नै काम अगाडि बढ्ने हुँदा अव जग्गाको नापजाँचको काम सुरु हुने बताउनुभयो । 

यसैगरी, उपाध्यक्ष घिमिरेले पालिकाले विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो । निस्सा वितरणका शरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनले गर्दा ढिलो भएको बताउनुभयो । पालिकाले जग्गाको बर्गीकरण सकेको र केही समयपछि जग्गाको समस्या समाधान हुने समेत बताउनुभयो । पालिका जनताको आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम ल्याइएको हुँदा सकारात्मक सुझावको अपेक्षा राखेको समेत बताउनुभयो ।  

यसैगरी, राष्ट्रिय भूमि आयोगको सदस्य घिमिरेले तनहुँमा भूमि आयोगको काम प्रभावकारी ढङ्गले अगाडि बढेको बताउनुभयो । आयोगको काम निर्वाचनले गर्दा ढिलाई भएता पनि अब सरकारले यो समस्या समाधानका गर्न लागिपरेको बताउनुभयो । तनहुँको देवघाटमा जग्गाको नापी समेत भइसकेको हुँदा अब जिल्लामा तीव्रताका साथ काम अगाडि बढ्ने बताउनुभयो ।