रवीन्द्र उप्रेती
बर्दिबास, पुस ११ गते । पसलेको कुटाइबाट एक मजदुरको मृत्यु भएको छ । जिल्लाको समसी २ पर्सादेवाडका ३० वर्षीय मो खुर्सेद अन्सारीको निर्घात कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरस्थित जानकी हेल्थ केयरमा उहाँको उपचार भएको थियो । उहाँलाई पर्सादेवाडकै ३० वर्षीय किराना पसले असलम भन्ने अवदुस सलामले चरम यातना दिएका थिए । अन्सारी केही दिनदेखि सोही पसलमा काम गर्दै आउनुभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
स्थानीयका अनुसार घटना पुस ६ गते अपराह्न साढे ३ बजेतिरको हो । सलामले अकस्मात् लात्ती, घुसा र उखुको लाथ्राले अन्सारीलाई यातना दिन थालेपछि उहाँ बिरामी परेर उपचारमा हुनुन्थ्यो । आवेगमा आएका सलामले मजदुर अन्सारीलाई निर्घात कुटपिट गर्नुका साथै गुदद्वारमा उखुको लाथ्रा हालेर भित्री रूपमा घाइते बनाएको अनुसन्धानमा खुल्न आएको छ ।
जथाभावी उखु र भाटाले प्रहार गर्दा अन्सारीको चिउँडो काटिनुका साथै शरीरभरि नीलडाम रहेको प्रहरीले जनाएको छ । उहाँलाई टेम्पुमा राखेर पर्सास्थित नर्सिङ होममा प्राथमिक उपचार गराई जनकपुरस्थित जानकी हेल्थ केयर भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिनुभयो ।
समसी १ का वडाध्यक्ष विपिन यादवका अनुसार खसीको मासु बेचेको पैसाको विषयलाई लिएर अन्सारीलाई यातना दिएका थिए । प्रहरीले सलामलाई पक्राउ गरी गौशालास्थित इलाका प्रहरीको हिरासतमा राखेको छ । त्यहाँका प्रहरी उपरीक्षक रञ्जन मिश्रका अनुसार सलाम लागु औषध दुर्व्यसनी पनि भएको खुलासा भएको छ । ‘घटनाको दिन पनि सलामले कोरेक्स र नइट्रभेटको ३–४ ट्याब्लेट खाएको बुझिएको छ’ मिश्रले भन्नुभयो ।
अति विपन्न अवस्थाका मृतक अन्सारीका श्रीमती तथा नाबालक अवस्थाका ४ छोरा र २ छोरी छन् ।