• ११ मंसिर २०८१, मङ्गलबार

विदेशमा हिजोआजका कुरा प्रदर्शन

blog

काठमाडौँ, पुस ११ गते । चलचित्र ‘हिजोआजका कुरा’को विदेशमा प्रदर्शन भइरहेको छ। अमेरिकाबाट सुरु भएको विदेश प्रदर्शन यात्रा अस्ट्रेलिया आइपुगेको छ। 

चलचित्रको प्रदर्शनका लागि दुई साताअघि निर्देशक साकार पन्त अस्ट्रेलिया उड्नुभएको थियो। निर्देशक पन्तले भन्नुभयो, “अस्ट्रेलियाका विभिन्न सहरमा चलचित्र प्रदर्शनी भइसकेको छ, यस चलचित्रको प्रशंसा पनि भइरहेको छ। त्यसैले पूर्वनिर्धारितभन्दा बढी सो थपिएको छ। अझै केही साता प्रदर्शन हुन्छ।’  निर्देशक पन्तका अनुसार, “अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित गार्डेन सिटी टुवाम्बामा भएको सोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो।”  यसअघि हिजोआजका कुरा डर्विन क्याथरिन र ब्रिसवेनमा प्रदर्शन भइसकेको छ। अब डिसेम्बर २९ मा क्यानबेरा, जनवरी ५ मा सिड्नी र जनवरी ८ मा गोल्ड कोस्ट र जनवरी २२ मा एडिलेडमा प्रदर्शन हुँदैछ। अस्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्सनले प्रदर्शनमा साथ दिएको छ। 

अमेरिकामा चलचित्रको माग बढेकाले डिसेम्बर २३ देखि टेक्ससमा चलचित्र प्रदर्शन भइरहेको उहाँले बताउनुभयो। टेक्ससमा दुई साता सो चलचित्र लाग्ने जनाइएको छ। गत असोज २८ गते नेपालमा प्रदर्शन भएको चलचित्रले औसत व्यापार गरेको थियो। पन्त फिल्म प्रोडक्सनमा निर्मित चलचित्रमा कथा सन्तोष पन्त र पटकथा सन्दिप किस्नाले लेख्नुभएको हो। रवि सायमीले खिचेको चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रिमा विश्वकर्मा, स्वं. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारीलगायतको अभिनय छ।