विजयकुमार साह
ढल्केवर, पुस १० गते । मधेश प्रदेशमा दुई दिनको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रदेशको धनुषा र बारा जिल्लामा गरी दुई दिनभित्र दुई जनाको हत्या भएको हो ।
शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, बस्ने ४० वर्षीय धनुक दासको गोली प्रहारबाट हत्या भयो । घरमै बसिरहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो । अज्ञात व्यक्ति घरमै पसेर दासमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका दासको उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो ।
यसअघि शुक्रबार साँझ बाराको गढीमाई नगरपालिका–२, भुतही पुल नजिकै रहेको चिया पसलमा गोली प्रहारबाट एक भारतीय नागरिकको हत्या भयो । भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा निवासी ४५ वर्षीय शिवपुजनप्रसाद यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट सख्त घाइते भएका यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो । मधेश प्रदेशका प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी सुमनकुमार तिम्सिनाले दुवै घटनामा संलग्न अपराधी पक्राउ पर्न नसकेको बताउनुभयो । उहाँले अपराधीको खोजी कार्य तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो ।
अपराधी भारततर्फ पनि भागेको हुनसक्ने बताउँदै भारतीय सीमामा तैनाथ सशस्त्र प्रहरी र भारतीय सुरक्षा निकायसँग समन्वयको प्रयास भइरहेको छ । मधेशको आठ वटै जिल्लामा लागूऔषधको चुनौती छँदै थियो । यो घटना पश्चात् सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ, प्रवक्ता तिम्सिनाले भन्नुभयो ।
बारा घटनामा भारतीय नागरिकको हत्या भएकाले हत्यामा संलग्न व्यक्ति भारतीय पनि हुनसक्छ । हत्या गर्न नेपालको भूमि प्रयोग गरेको हुनसक्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ । धनुषाको घटना सम्बन्धमा पनि गहन अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।