• १२ मंसिर २०८१, बुधबार

बेनीलाई जोगाउन नदी कटानको उच्चजोखिम क्षेत्रमा पक्की पर्खाल निर्माण सुरु

blog

पक्की पर्खाल बनाउन कालीगण्डकी नदी किनारमा एक्साभेटरले जग खन्दै । तस्बिर – ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस १० गते । कालीगण्डकी नदीले कटान गर्ने म्याग्दीको सदरमुकाम बेनीको उच्च जोखिम क्षेत्रमा पक्की आरसीसी पर्खाल निर्माण सुरु गरिएको छ । दुई वर्षअघि कालीगण्डकीमा आएको बाढीका कारण कटान गरेको क्षेत्र म्याग्दी जेसिजको भवनदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिको भागसम्म कालीगण्डकी नदी किनारमा पक्की पर्खाल निर्माण थालिएको हो । बजारको यो किनार नदी कटानबाट उच्च जोखिममा छ । 

कालीगण्डकी नदी कटानको उच्च जोखिममा रहेको कालीपुल बसपार्क र जेसिज भवन रहेको भागमा पक्की पर्खाल लगाउन गत वर्ष रुपताल संरक्षण एकीकृत विकास परियोजनाले नौ करोड ४५ लाख रुपियाँमा रौतहट–विएनबी कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता गरेको परियोजनाका इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । परियोजनाका अनुसार २२ महिना भित्र योजना सम्पन्न गर्ने गरी गत वर्ष पुसको दोस्रा हप्ता ठेक्का सम्झौता भएको थियो । 

सम्झौता अनुसार गत वर्ष कालीपुल बसपार्कस्थित कालीगण्डकी नदीले कटान गरेको क्षेत्रमा ८० मिटर पक्की पर्खाल निर्माण सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षको जेठ महिनाभित्र जेसिज भवनदेखि उद्योग वाणिज्य सङ्घको कार्यालय पछाडि सम्मको एकसय ३५ मिटर पक्की पर्खाल निर्माण सक्ने गरी काम थालिएको उहाँले बताउनुभयो । 

रौतहट–बिएनबी कन्स्ट्रक्सन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्स्ट्रक्सनका प्रतिनिधि विक्रम हमालले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालेको बताउनुभयो । एक्स्काभेटर प्रयोग गरेर काम थालिएको उहाँले बताउनुभयो । तोकिएको समयावधि भित्र निर्माण सम्पन्न गर्न दुई चरणमा दिन र रातमा गरी काम थालिएको उहाँले बताउनुभयो । 

नदी किनारमा चौध मिटर फराकिलो जग ढलान गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र ८ मिटर अग्लो आरसिसी पर्खाल निर्माण गर्ने योजनामा उल्लेख छ । दुईवर्ष अघि कालीगण्डकीमा आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । वर्षाका समयमा नदी कटानबाट बजारलाई जोगाउन पक्की पर्खाल लगाउन थालिएको बेनी नगरपालिका ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । कालीगण्डकी नदीले कटान गर्ने उच्च जोखिम क्षेत्रमा वर्षाका समयअघि नै योजना सम्पन्न गर्न वडाले सहजीकरण गरेको उहाँले बताउनुभयो । 

परियोजनाले यसअघि म्याग्दी बेनीतर्फ तीन करोड तथा पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम सम्पन्न गरिसकेको छ । म्याग्दी खोलातर्फ मंगलाघाटदेखि बेनी नगरपालिकाको कार्यालयसम्मको भागमा पक्की पर्खाल लगाउन ठेक्काको प्रक्रिया थालिएको परियोजनाले जनाएको छ । 

कालीगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्न करिब ५३ करोड बराबरको लागत अनुमान गरिएको गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको हो । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालिकाले बनाएको छ ।