धीरेन्द्र प्रसाद साह
जनकपुर, पुस ८ गते । नेपाली कांग्रेस मधेश प्रदेश समितिको बैठकले प्रदेश संसदीय दलको नेता छनोट गर्न प्रदेश समितिका उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिका सदस्यमा प्रदेश समितिका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव रहनुभएको छ । गठित यस समितिले प्रदेश सभामा दलको नेता चयनका लागि निर्वाचन गराउने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नीतेशकुमार गुप्ताले जानकारी दिनुभयो । तर बैठकले प्रदेश सरकार गठन तथा छलफलका लागि प्रदेश सभापति कृष्णप्रसाद यादवलाई जिम्मेवारी दिएको छ । कांग्रेसले मधेश प्रदेशमा सरकार नेतृत्वमा दाबी गर्ने उहाँले बताउनुभयो ।
बैठकपछि कांग्रेस प्रदेशका मुख्यसचिव सन्तुप्रसाद यादवले जारी गर्नुभएको विज्ञप्तिमा ‘मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन गर्न केन्द्रीय नेतृत्वसँग समन्वय गरी गठबन्धनमा रहेका दल लगायतसँग वार्ता, संवाद र छलफल प्रक्रिया प्रारम्भ गर्ने जिम्मेवारी प्रदेश सभापति कृष्णप्रसाद यादवलाई दिने निर्णय गरियो’ उल्लेख छ । सोही बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सहयोग गरेका सबै नेता, शुभेच्छुक र मतदातासहित पार्टीको केन्द्रीय समितिलाई धन्यवाद दिइएको छ । पार्टीबाट निर्वाचित भएका प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई प्रदेश कार्यालय जनकपुरधाममा बोलाई सम्मान गर्ने निर्णय गरेको छ ।