कपिल ज्ञवाली
सिद्धार्थनगर, पुस ७ गते । गृहमन्त्री बालकृष्ण खाणले ब्याजदर वृद्धिलाई नियन्त्रण गर्न नयाँ बन्ने सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । अब बन्ने नयाँ सरकारले ब्याजदर वृद्धिलाई नियन्त्रणका लागि नीतिगत हस्तक्षेप गर्नुपर्छ उहाँले भन्नुभयो ।
ब्याजदरको चरम वृद्धिले उद्योगी व्यवसायीहरू सङ्कटमा परेको उहाँले चर्चा गर्नुभयो । गृहमन्त्री खाणले बैङ्क तथा वित्तीय संस्थालाई गम्भीर बन्न आग्रह गर्नुभयो । ‘बैङ्कको ब्याजदर वृद्धिले उद्योगी र व्यावसायीहरु मारमा परेका छन्, यही अवस्था रहेमा केही समयपछि झन् ठूलो सङ्कट वित्तीय क्षेत्रले भोग्नुपर्छ । आर्थिक मन्दीमा बैङ्क तथा वित्तीय संस्थाहरू अझ बढी गम्भीर र संवेदनशील बनुन् ।’
रुपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन समारोहमा बोल्दै खाणले समस्या समाधानका लागि साझा अवधारणासाथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
‘उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्ने हाम्रो साझा दायित्व हो, यसमा सबै मिलेर अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो । बुटवलको औद्योगिक प्रदर्शनीले उद्योगीहरूलाई नयाँ ऊर्जा प्रदान गरेको उहाँको भनाइ छ ।