• ४ वैशाख २०८१, मङ्गलबार

झारफुकका नाममा त्रासद घटना

blog

आफूलाई माता बताउने १९ वर्षीया सचिता मगर र उनका सहयोगी ।

काठमाडौँ, पुस ७ गते । काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भीर परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला गम्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृत्युको मुखमा पुगेका थिए । 

आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानी)ले डामे/पोलेपछि गम्भीर घाइते हुनुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीको शरीरमा तातो पन्युँ, तातो तेल र पानी खन्याउँदा भोजपुर आमचोक गाउँपालिका–६ की ३६ वर्षीया सविता राईको जीउभरि घाउ र फोकाका कारण सिकिस्तै हुनुभएको छ ।  प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक नवीन विष्टले नेपाल प्रहरी अस्पतालमा बिरामी राईको उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । प्रहरीले किशोरी मातासहित सहयोगी चार जनालाई पक्राउ गरी कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उक्त घटनामा संलग्न मातासहित उनका सहयोगी उदयपुर घर भएका २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीय सङ्गम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ पक्राउ परेका छन् ।  

उपरीक्षक विष्टका अनुसार शरीर काप्ने, बर्बराउने तथा छटपटी हुने समस्याबाट पीडित सविता राईलाई किशोरी माताले निको पारिदिने दाबी गर्दै झारफुक गरिएको थियो । पुस १ गते झारफुकका क्रममा बिरामीको शरीरमा तातो वस्तु खन्याइएको थियो । अर्घाखाँची घर भएकी सचिता र भोजपुरकी सविता दुवै जरङ्खुमा बस्दै आएका थिए । पक्राउ परेकी किशोरी माताले बिरामीलाई निको पार्ने भनी आफूले तातो वस्तु बिरामीको शरीरमा खन्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

दुई जनाको मृत्यु

झारफुकको नाममा दिइएको यातनाबाट गत २०७८ सालको पुसमा दुई जनाको मृत्यु भएको थियो । आफूलाई माता दाबी गर्ने काठमाडौँ रानीवनकी उमा शाही ठकुरीले दिएको यातनाबाट सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका–२ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको ज्यान गएको थियो । बालाजु रानीवन पानीट्याङ्कीस्थित उमाको झारफुक केन्द्रमा झारफुकका क्रममा दिएको यातनाबाट अचेत भएकी रोशनीको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

यसैगरी गत वर्ष गुल्मीको इस्मा गाउँपालिका–३, दर्लामचौरका ६३ वर्षीय रामबहादुर मुखियाको झारफुकको नाममा धामीले तातो पन्युँ र झाँझरले प्रहार गर्दा मृत्यु भएको थियो । ढाड दुखाइको समस्या भएका मुखियालाई २०७८ साल पुस २५ गते धामी भनिने ३८ वर्षीय रामप्रसाद श्रेष्ठले झारफुकका नाममा फलामे वस्तुले चार दिनसम्म डाम्दा मृत्यु भएको थियो ।