• २८ फागुन २०८१, बुधबार

इरानमा महिला विद्रोह

blog

इरानी महिलाले अनुदारवादी सरकारविरुद्ध विद्रोह गरेका छन् । लाखौँ महिला सडकमा ओर्लेर हिजाबविरुद्ध विद्रोह गरेका हुन् । हिजाब खारेजीको माग गर्दै महिला अधिकारका लागि भएको यस पटकको विद्रोह इरानको क्रान्तिपछिको ठूलो हो तर सरकार उदार देखिएन । महिलालाई अधिकार दिनुको सट्टा आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गरी गोली र लाठी बर्साएको छ । इरान सरकारले गरेको दमनको सर्वत्र विरोध भएको छ ।

इरानमा आचार तथा व्यवहारबारे निगरानी गर्ने प्रहरी मानिसको घुइँचो भएको ठाउँमा गस्ती गर्न निस्किन्छन् । त्यहाँको तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी निकायले हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ आक्रोशपूर्ण प्रदर्शन भएको थियो । उनी कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा पक्राउ परेकी हुन् । टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा अमिनीलाई प्रहरीले तेहरानमा पक्राउ ग¥यो । यातनाका कारण हिरासत कक्षमै अचेत भएपछि उनको तीन दिनपछि सेप्टेम्बर १६ मा मृत्यु भएको थियो ।

अमिनीका बुवा अमजादले मृत्युपछि आफ्नी छोरीको शरीर हेर्न नदिइएको बताए । अमिनीको अनुहार र खुट्टा मात्र देखिने गरी शव दाहसंस्कारका लागि तयार गरेर राखिएको थियो ।

महिलाको अगुवाइमा सुरु भएको प्रदर्शनलाई पछिल्लो समय पुरुषले पनि साथ दिएका छन् । उनीहरूले इरानको कठोर धार्मिक कानुन खारेजीको चर्को रूपमा माग गरेका छन् । महिलाले सार्वजनिक स्थानमा अनुहार र हातबाहेक सबै अङ्ग ढाक्नुपर्ने नियमको उनीहरूले विरोध गरिरहेका छन् । त्यस्तै महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यको समेत आवाज उठेको छ ।

विरोधका क्रममा महिलाले सार्वजनिक स्थानमा नै कपाल काटे र हिजाब जलाए । उनीहरूले ‘तानाशाहीलाई फाँसी दे’ भन्दै नाराबाजी गरे । राजधानी तेहरानका विभिन्न विश्वविद्यालयमा पनि विद्यार्थीले आन्दोलन चर्काए ।

लामो समयदेखि अमेरिकालगायतका पश्चिमा देशले लगाएको विभिन्न प्रतिबन्धका कारण इरानी अर्थतन्त्र निकै प्रभावित भएको छ । जसका कारण इरानी जनताको जनजीवन कष्टकर बन्दै गएको छ । प्रतिबन्धका कारण इरानले तेल बिक्री गर्न पाएको छैन । त्यसमाथि भ्रष्टाचार र आर्थिक दुरवस्थाका कारण लामो समयदेखि इरानी महँगी, बेरोजगारी र खाद्यान्न अभावको समस्या झेल्न बाध्य छन् । पछिल्ला प्रदर्शन देशको शासन प्रणालीको केन्द्रमा रहेका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीप्रति लक्षित छन् । खमेनीको उत्तराधिकारीका रूपमा हेरिएका मोज्ताबाविरुद्ध पनि चर्का नाराबाजी गरिएको छ ।

कतिपय सहरमा प्रदर्शनकारीले प्रहरी कार्यालय र सरकारी भवनमा आगो लगाइदिए । महिलाले ‘इस्लामिक गणराज्य हामीलाई चाहिँदैन’ भन्दै आक्रोश व्यक्त गरे । गिलान प्रान्तमा एक बूढी महिलाले आफ्नो हिजाब निकाल्दै खामेनीलाई मृत्युदण्ड देऊ भन्दै नारा लगाएकी थिइन् ।

तर सरकार भने प्रदर्शनकारीका माग सुन्ने भन्दा पनि दमन गर्ने नीति लिएको छ । मोबाइल फोन र इन्टरनेट सेवासमेत त्यहाँ अवरुद्ध गरियो । त्यस्तै इरानी रिभोलुसनरी गार्ड्सले देशमा भइरहेको प्रदर्शनलाई देशद्रोही कार्यको संज्ञा दिँदै मानिसलाई पाठ सिकाउने बतायो ।

मुस्लिम महिलाले परम्परागत रूपमा टाउको ढाक्न प्रयोग गर्ने वस्त्र हो हिजाब । यो लगाउँदा मानिसको टाउकोदेखि घाँटी हुँदै छातीसम्म छोपिन्छ तर अनुहार भने खुला रहन्छ । अरबी शब्द ‘हिजाब’ को अर्थ अवरोध हो । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब कानुन लागू गरेको थियो । त्यसयता इरानी महिला घर बाहिर निस्कँदा अनिवार्य रूपमा हिजाब लगाउँदै आएका छन् । इरान घुम्न जाने अन्य देशका महिलाले पनि त्यहाँका महिलाले जसरी हिजाब लगाउनुपर्ने नियम छ ।

इस्लामिक कानुनअनुसार महिलाले घरबाहिर निस्कँदा आफ्नो अनुहार र हात (नाडीसम्म)बाहेक सम्पूर्ण अङ्ग छोप्नुपर्छ तर यथार्थमा भने यो नियम पूर्ण रूपमा कार्यान्वयनमा भने आएको देखिँदैन । यद्यपि केही महिलाले भने यो कानुनको पालना गर्ने गरेका छन् । इरानमा यो कानुन लागू गरिएसँगै महिलाले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

पछिल्लो समय खासगरी सहरी धनीवर्गका महिलाले हिजाबसम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको पाइन्छ । त्यस्ता महिलाले उक्त नियमलाई आंशिक रूपमा उल्लङ्घन गर्ने गरेका छन् । उनीहरूले सम्भव भएसम्म टाउकोको पछाडिपट्टि मात्र हिजाब लगाउने तथा गर्मीयाममा खुला राख्ने गर्छन् ।

इरानमा सुरु भएको हिजाब विरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो । फ्रान्सको राजधानी पेरिसमा हजारौँ मानिसले प्रदर्शन गरे । त्यसैगरी बेलायतको राजधानी लन्डनमा पनि प्रदर्शन गरियो ।

इरानमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागू गर्नेविरुद्धको विरोधमा महिलाले आफ्नो टाउकोमा लगाउने स्कार्फ जलाए । त्यहाँ ‘गस्त–ए इर्साद’ नामक ‘नैतिकता’ प्रहरीको विशेष एकाइलाई इस्लामिक आचरण सुनिश्चित गर्न र अनुचित लुगा लगाएका मानिसलाई हिरासतमा राख्ने जिम्मा दिइएको छ ।

सन् १९७९ मा इस्लामिक क्रान्ति सफल हुनुपहिले पश्चिमा समर्थक राजा शाह मोहम्मद रेजा पल्लवीलाई अपदस्थ गर्नुअघि तेहरानको सडकमा मिनिस्कर्ट लगाउने र कपाल नछोपी हिँड्ने चलन सामान्य थियो ।

सन् १९७९ मा हिजाबको विरोध प्रदर्शन भएको थियो । यद्यपि इस्लामिक गणतन्त्र स्थापना भएको केही महिनाभित्रै शाहको नेतृत्वमा स्थापित महिला अधिकारको संरक्षण गर्ने कानुनहरू खारेज हुन थाले । क्रान्तिलगत्तै सडकमा पुरुष र महिला कागजमा बेरिएका टाउको ढाक्ने कपडा महिलालाई निःशुल्क वितरण गर्नमा लागेका थिए । 

सन् १९७९ को मार्च महिनामा आन्दोलनको नेतृत्व गर्ने आयतुल्ला रुहोल्लाह खमिनीले आफ्नो कार्यस्थलमा सबै महिलालाई हिजाब अनिवार्य हुने र हिजाब नलगाउने महिलालाई ‘नग्न’ ठहर गर्ने बताइयो । उनले आदेश दिइएको भोलिपल्ट अन्तर्राष्ट्रिय महिला दिवस थियो । त्यस दिन प्रायः महिलासहित एक लाखभन्दा बढी मानिस तेहरानको सडकमा प्रदर्शनका निम्ति भेला भएका थिए ।

सन् १९८१ सम्ममा महिला तथा युवतीले कानुनी रूपमै सामान्य ‘इस्लामिक’ लुगा लगाउनुपर्ने भयो । यसको अर्थ टाउको र काँध छोप्ने साना कपडासहित शरीर पूर्ण रूपमा ढाक्ने ‘चादर’ लगाउनु थियो । सन् १९८३ मा संसद्ले सार्वजनिक स्थानमा कपाल नढाक्ने महिलालाई ७४ कोर्रा लगाउने निर्णय गरेको थियो । पछिल्लो समय यसमा ६० दिनसम्मको जेल सजाय थप गरिएको छ । यी नियम लागू गरिने हद र सजायको गम्भीरता विभिन्न राष्ट्रपतिको पालामा फरक पर्दै आएको छ ।