• १३ वैशाख २०८१, बिहिबार

सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन

blog

काठमाडौँ, पुस ५ गते । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथको कार्यक्रम तय गरेको छ। प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुअघि शपथको कार्यक्रम राख्न सरकारले गरेको आग्रहअनुसार सचिवालयले पुस ७ गते छोटो समयमा शपथको मिति तय गरेको हो। सचिवालयले तीन दिनको समय दिएर सबै सदस्यलाई उपस्थितिका लागि सूचना दिएको हो। 

यसअघि प्रधानमन्त्री नियुक्ति हुँदासम्म सदस्यका रूपमा शपथ नलिएको र संसदीय दलको नेतासमेत चयन नभएको भन्दै आलोचना भएको थियो। शपथ नलिई प्रधानमन्त्री नियुक्तिको दाबी पेस भएको यसअघिको अभ्यास यस पटक फेरिन लागेको हो। अघिल्लो पटक संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा एक दिनअघि मात्र शपथ भएको थियो। 

नेपालको संविधानको धारा ८८ ले सङ्घीय संसद्का सदस्यले सदन वा समितिको बैठकमा भाग लिनुअघि पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ। निर्वाचनको अन्तिम परिणाम प्राप्त भई राष्ट्रपतिबाट सरकार गठनका लागि दाबी पेस गर्न आह्वान भएसँगै शपथको कार्यक्रम तय भएको हो। यस्तै सरकारको नेतृत्वको दौडमा रहेका दलहरूले संसदीय दलको नेता चयनको प्रक्रिया पनि सँगसँगै अघि बढाएका छन्। नवनिर्वाचित सदस्यहरूले सदनको ज्येष्ठ सदस्यबाट शपथ लिनेछन्। सदस्यहरूलाई शपथ गराउनुअघि ज्येष्ठ सदस्यले भने राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ लिनेछन्। सभामुख चयन नहुँदासम्म बैठक सञ्चालन पनि ज्येष्ठ सदस्यबाटै हुनेछ। सचिवालयले शपथमा उपस्थित हुँदा निर्वाचन आयोगले दिएको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको तस्बिरसहित उपस्थित हुन सूचित गरेको छ। यस्तै मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा अनुवाद गरी बुझाउन पनि सचिवालयले आग्रह गरेको छ। शपथको व्यहोरा सोमबारसम्म उपलब्ध गराउन सचिवालयले आग्रह गरेको छ। 

ज्येष्ठ सदस्यमा जबराको सम्भावना

प्रतिनिधि सभा सदस्यहरूलाई शपथ गराउने ज्येष्ठ सदस्यको भने सचिवालयले अझै निक्र्योल गरिसकेको छैन। निर्वाचन आयोगले पठाएको विवरण र नागरिकतामा सम्भावित ज्येष्ठ सदस्यको उमेर फरक परेपछि सचिवालयले नागरिकता रुजु गर्ने कार्य गरिरहेको छ। सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले ज्येष्ठको पहिचान गर्ने कार्य भइरहेको बताउनुभयो। पाण्डेले भन्नुभयो, “सम्भावित तीन सदस्यको नागरिकता हामी रुजु गरिरहेका छौँ। भोलि (मङ्गलबार)सम्म टुङ्गो लाग्छ।”

नागरिकताका आधारमा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित महिन्द्रराय यादव हुनुहुन्छ तर यादवले यसअघि पनि नागरिकता र आफ्नो वास्तविक उमेर फरक रहेको भन्दै शपथ गराउन अस्वीकार गर्नुभएको थियो। यादवको उमेर नागरिकतामा १९९४ वैशाख २४ गते रहेको छ तर यादवले आफ्नो जन्ममिति २०११ असार १५ भएको विवरण संसद्मा उपलब्ध गराउँदै आउनुभएको छ।

सचिवालयका अनुसार यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीमध्ये एकले शपथ गराउनुहुनेछ। निर्वाचन आयोगले संसद्लाई पठाएको विवरणमा केसीको जन्ममिति १९९८ माघ २० गते रहेको छ भने जबराको जन्ममिति १९९९ वैशाख २५ रहेको छ तर जबराको जन्ममिति नागरिकताको प्रतिलिपिमा फरक देखिएपछि सचिवालयले रुजु गरिरहेको छ। 

सचिवालयले प्राप्त गरेको नागरिकतामा जबराको जन्ममिति १९९८ वैशाख २५ रहेको छ। सक्कल नागरिकता भिडाएपछि ज्येष्ठ सदस्यको टुङ्गो लगाउने तयारी सचिवालयको छ। जबराको जन्ममिति १९९८ वैशाख २५ गते कायम भएमा ज्येष्ठ सदस्यका रूपमा उहाँले नै शपथ गराउनुहुनेछ।