• ११ मंसिर २०८१, मङ्गलबार

हुम्लामा बासमती चामल ढुवानी

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस ३ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुुदानमा उपलब्ध गराउँदै आएको खाद्यान्नमध्ये यस वर्ष बासमती चामल ढुवानी सुरु गरेको छ । 

सर्वसाधारण उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने योजनाअनुसार सो चामल ढुवानी सुरु भएको खाद्य कम्पनीले जनाएको हो । खाद्य कम्पनीको हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्जबाट ढुवानी हुने अनुदानको खाद्यान्नमध्ये बासमती चामल ढुवानी सुरु भएको हो । उहाँले उपभोक्ताको माग र गुणस्तरीय खाद्यान्न सबैमा पु-याउन गत वर्षदेखि बासमती चामल ढुवानी हुन थालेको बताउनुभयो । 

हालसम्म नेपालगञ्जबाट तीन सय क्विन्टल चामल हवाई मार्गबाट ढुवानी भएको र यस वर्ष एक हजार पाँच सय क्विन्टल बासमती चामल हुम्लामा पु-याइनेछ । गत वर्ष तीन हजार क्विन्टल बासमती चामल आएको थियो । 

खाद्य कम्पनीले उक्त चामल सर्वसाधारणलाई प्रतिकेजी ११० रुपियाँ र कर्मचारीलाई ११२ रुपियाँमा बिक्री गर्ने बताइएको छ । 

चालू आर्थिक वर्षका लागि हवाई मार्गबाट १० हजार क्विन्टल चामल कोटा निर्धारण गरिएको छ । बासमतीबाहेक अन्य किसिमको चामल पनि ढुवानी भइरहेको छ । खाद्य कम्पनीले नेपालगञ्जबाट प्रतिकेजी १६० रुपियाँ र सुर्खेतबाट १५५ रुपियाँ ढुवानी भाडा तिर्दै आएको छ ।