धर्बेन्द्र झा
धनुषा, पुस २ गते । निर्वाचन आयोगले मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखलाई बुझाएको छ । निर्वाचन आयोगका आयुक्त सगुनसम्शेर जबरा नेतृत्वको टोलीले प्रदेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई प्रतिवेदन बुझाउनुभएको हो ।
प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा आयुक्त जबराले सङ्घीयतापश्चात् प्रदेशलाई पनि महत्व दिन सात वटै प्रदेशमा आयोगले पहिलो पटक प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएको जानकारी गराउनुभयो । आयोगको प्रतिवेदन अनुसार मधेश प्रदेशको प्रदेशसभातर्फ १०७ जना निर्वाचित हुनुभएको छ । जसमा पुरुष ६७ जना (६२ दशमलव ६१ प्रतिशत) र महिला ४० जना (३७ दशमलव ३९ प्रतिशत) निर्वाचित हुनुभएको छ ।
मधेश प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागी भएको उल्लेख छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ९३२, महिला ७४ र अन्य १ गरी कूल १ हजार ७ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिक निर्वाचन प्रणालीमा कुल ६३ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको उल्लेख छ ।
प्रतिवेदनबारे जानकारी दिंदै आयुक्त जवराले प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि मधेश प्रदेशमा महिला १५ लाख ५८ हजार ७०४, पुरुष १८ लाख २७ हजार ५४ र अन्य ७० गरी कूल ३३ लाख ८६ हजार ६२८ मतदाता कायम रहेको र मधेश प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र थिए ।
निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ २२ लाख २५ हजार ७४६ (६५ दशमलव ७२ प्रतिशत मतदान भएको थियो । जसमध्ये २१ लाख ४० हजार २३ (९६ दशमलव १५ प्रतिशत) मत सदर भएको थियो । ८५ हजार ७२३ (३ दशमलव ८५ प्रतिशत) मत बदर भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सभाको समानुपातिक निर्वाचनमा २२ लाख ३० हजार ७०१ (६५ दशमलव ७ प्रतिशत) मतदान भएको थियो । जसमध्ये २० लाख ८६ हजार २९८ (९३ दशमलव ५३ प्रतिशत) मत सदर भएको थियो । १ लाख ४४ हजार ४०३ (६ दशमलव ४७ प्रतिशत) मत बदर भएको थियो ।
यस पटक सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने पुरुष उम्मेदवार ७२४ जना, महिला उम्मेदवार ६४ जाना र अन्य एक गरी ७८९ जना उम्मेदवारको धरौटी जफत भएको छ । त्यसैगरी समानुपातिकतर्फ एक सिट समेत प्राप्त नगर्ने २६ वटा राजनीतिक दलको धरौटी जफत भएको आयोगले जनाएको छ ।