• १२ असोज २०८१, शनिबार

नेपालगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, पुस २ गते । सयौँ दर्शकको भव्य उपस्थितिबीच नेपालगञ्ज रङ्गशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ बिहीबार राति सम्पन्न भएको छ। मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि साङ्गीतिक कार्यक्रमअन्तर्गत कन्सर्ट आयोजना गरिएको हो। 

नेपालको चर्चित ब्यान्ड नेपथ्यसँगको सहकार्यमा आश्रमले बिहीबार साँझ कन्सर्ट आयोजना गरेको थियो। ११ वर्षको अन्तरालपछि पहिलो पटक ‘नेपथ्य लाइभ कन्सर्ट’ नेपालगञ्जमा आयोजना गरिँदा यस क्षेत्रका दर्शक रङ्गशालामा ओइरिएका थिए। 

गायक अमृत गुरुङले स्टेजमा आफ्ना धेरै गीत प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुभयो। गायक गुरुङसँग नेपालगञ्ज रङ्गशालामा सयौँ दर्शक उफ्री उफ्री रमाउँदै झुमेका थिए। गुरुङले माया, प्रेमलगायत मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने धेरै गीत गाउनुभएको र दर्शकलाई नचाउनुभयो। 

धेरै लामो समयपछि नेपालगञ्जमा ठूलो सङ्ख्यामा दर्शक कन्सर्ट हेर्न रङ्गशालामा ओइरिएको कन्सर्टका मूल समिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो। दर्शकले पहिलो पटक रङ्गशाला भरिभराउ भएको जनाउँदै सो उपस्थितिले कलाकारलाई अत्यधिक उत्साहित बनाएको उहाँले बताउनुभयो। 

सहयोगापेक्षी सडक आश्रित मानवको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपत्कालीन अक्षयकोष स्थापनार्थ उक्त कन्सर्ट आयोजना गरिएको कन्सर्टका मूल समिति संयोजक श्रेष्ठले जनाउनुभयो।   

आश्रमले नेपालगञ्ज उपमहानगरपालिका–१० मा घर भाडामा लिएर गत वैशाख १ गतेबाट सेवा सञ्चालन गर्दै आएको छ। उक्त आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानवको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ। दानवीर एवं समाजसेवी जे.के. सिंहले मानवसेवा आश्रमको भवन निर्माणका लागि बाँकेको डुडुवा गाउँपालिका–६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ।