• ११ मंसिर २०८१, मङ्गलबार

११ वर्षपछि नेपथ्य नेपालगञ्जमा

शीतलहरको चिसोमा ‘नेपथ्य लाइभ कन्सर्ट’

blog

लाइभ कन्सर्ट हेर्न नेपालगञ्ज रङ्गशालामा दर्शकको भीड । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, पुस १ गते ।
सयौं दर्शकको भव्य उपस्थितिका बीच नेपालगञ्ज रङ्गशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ बिहीबार राति सम्पन्न भएको छ । मानव सेवा आश्रमको भवन निर्माण एवम् अक्षयकोष स्थापनार्थ मानवताका लागि साङ्गीतिक कार्यक्रम अन्तर्गत कन्सर्ट आयोजना गरिएको हो ।

नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले बिहीबार साँझ कन्सर्ट आयोजना गरेको थियो । ११ वर्षको अन्तरालपछि पहिलो पटक ‘नेपथ्य लाइभ कन्सर्ट’ नेपालगञ्जमा आयोजना गरिँदा यस क्षेत्रका दर्शक रङ्गशालामा ओइरिएका थिए ।

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले स्टेजमा आफ्ना धेरै गीतहरु प्रत्यक्ष रुपमा प्रस्तुत गर्नुभयो । गायक गुरुङसँग नेपालगञ्ज रङ्गशालामा सयौं दर्शकहरु रमाउँदै झुमेका थिए । कन्सर्ट अवलोकन गर्नका लागि टाढा टाढाबाट पनि दर्शकहरु रङ्गशालामा पुगेका थिए । गायक गुरुङले माया, प्रेमलगायत मानवता झल्किने र मानवता प्रवर्धनमा सहयोग पुग्ने धेरै गीतहरु गउनुभयो र दर्शकलाई नचाउनुभयो ।


धेरै लामो समयपछि नेपालगञ्जमा यति ठूलो सङ्ख्यामा दर्शक कन्सर्ट हेर्न रङ्गशालामा आइपुगेको कन्सर्टका मुल समिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले दर्शकहरुले पहिलो पटक रङ्गशाला भरिभराउ भएको जनाउँदै सो उपस्थितिले कलाकारलाई अत्याधिक उत्साहित बनाएको बताउनुभयो ।

सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ उक्त कन्सर्ट आयोजना गरिएको कन्सर्टका मूल समिति संयोजक श्रेष्ठले जनाउनुभयो ।  

आश्रमले नेपालगञ्ज उपमहानगरपालिका– १० मा घर भाडामा लिएर गत वैशाख १ गतेबाट सेवा सञ्चालन गर्दै आएको छ । उक्त आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

दानवीर एवम् समाजसेवी जे.के. सिंहले मानवसेवा आश्रमको भवन निर्माणका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ ।